बाबरी मस्जिद विध्वंश मामलामा भारतको सर्वोच्च अदालतले सत्तारुढ भारतीय जनता पार्टीका वरिष्ठ नेता लालकृष्ण आडवानीसहित शीर्ष नेतामाथि मुद्दा दर्ता गर्न आदेश दिएको छ ।
आपराधिक षडयन्त्र रचेको आरोपमा मुरली मनोहर जोशी, उमा भारती लगायत १० नेताविरुद्ध मुद्दा दायर गर्न अदालतले बुधबार आदेश दिएको हो ।
न्यायाधीशद्वय पीसी घोष र रोहिंटन नरीमनको संयुक्त इजलासले यस्तो आदेश दिएको हो ।
६ डिसेम्बर १९९२ मा हजारौंको संख्यामा हिन्दू धर्मावलम्बी कार्यकर्ताले अयोध्यास्थित बाबरी मस्जिद भत्काएका थिए । सो घटनापछि साम्प्रदायिक दंगा भएको थियो ।
भारतको केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआइ) ले अदालतमा दायर गरेको रिटमाथि लामो बहसपछि अदालतको यस्तो फैसला आएको हो ।
अदालतले यो मुद्दामा दैनिक सुनुवाइ हुने र मुद्दा नटुंगिएसम्म सुनुवाइ गर्ने न्यायाधीशको सरुवा समेत नहुने प्रष्ट पारेको छ ।
उल्लेखनीय छ, लालकृष्ण आडवानी भारतको आगामी राष्ट्रपतीय निर्वाचनमा सत्तारुढ दलको उम्मेदवार बन्ने चर्चा चलिरहेको समयमा उनीविरुद्ध मुद्दा दायर हुने भएको हो । (एजेन्सी)