लोडसेडिङ्ग मुक्त जिल्ला अर्घाखाँचीमा अघोषित लोडसेडिङ्ग हुँदा जनतालाई सास्ती


गोपाल प्रसाद भट्टराई
सन्धिखर्क,अर्घाखाँची । सरकारले उज्यालो नेपाल अभियान मार्फत सिङ्गो देश नै लोड सेडिङ्ग मुक्त गर्ने योजनाकासाथ काम गरिरहेको बताइरहँदा लोडसेडिङ्ग मुक्त जिल्लाको रुपमा चिनिने अर्घाखाँचीमा भने अघोषित लोडसेडिङ्ग हुँदा जनतालाई सास्ती भएको छ ।
बिशेषगरि चैत्र महिनादेखी बिहान,दिउसो र साँझको समयमा बिद्युत आउने जाने गरिरहँदा बिद्युतबाट चल्ने सामाग्रिहरु बिग्रिने, खानेपानीको अभाव, अंध्यारोमा बस्नुपर्ने लगायतका समस्या खेप्नुपरिरहेको जिल्लाबासीहरुले बताएका छन् । 
कुनै जानकारी बिनानै बिहान साँझ जस्तो महत्वपूर्ण समयमा बिद्युत अबरुद्ध हँदा बिद्युतको भरमा संचालन हुने बिभिन्न ब्याबसाय र संचारमाध्यम समेत प्रभावित हुनुको साथै कक्षा १२ को परिक्षा दिने बिद्यार्थीहरु प्रयाप्त पढ्नबाट बन्चित हुनुपरेकोमा चिन्तित भएका छन् । 
अचानक लाइन आउने र जाने समस्याले गर्दा अर्घाखाँचीमा संचालित दुग्ध,मासु तथा होटल ब्याबसायीहरु बढिमात्रामा मर्कामा परेको ब्याबसायीहरुले जानकारी दिएका छन् । यस्तो समस्याको बारेमा बुझ्नलाई बिद्युत कार्यालयमा फोन गर्दा फोन नै नउठाउने उठाइहालेमा केन्द्रबाटै लाइन गएको भन्ने जवाफ आउने स्थानिय बासिन्दाको गुनासो रहेको छ ।
यसबारेमा बिद्युत कार्यालय अर्घाखाँचीका इन्जिनियर बिरमान राजकोटि संग हामिले राखेको जिज्ञासामा दरबन्दी अनुसार कर्मचारीको अभाव, बिद्युत क्षमता भन्दा माग बढि, एकै पटक ठुलो संख्यामा कर्मचारी सरुवा हुनु,गर्मी यामसंगै हावाहुरीका कारण तार सट हुनु जस्ता कारणले यस्तो समस्या उत्पन्न हुने गरेको बताउनुभयो ।
जिल्लाको शितगंगा नगरपालिकाको अमराई , पाणिनी गाउँपालिकाको दुर्गाफाँट र मालारानी गाउँपालिकाको हंशपुरमा निर्माणाधीन सबस्टेशन संचालनमा नआएसम्म यस्तो समस्या रहिरहने बिद्युत कार्यालय अर्घाखाँचीको भनाई रहेको छ ।