सन्धिखर्क नगरपालिका स्तरीय तेस्रो रनिङशिल्ड प्रतियोगिता सुरु

 अर्जुन भुसाल
सन्धिखर्क, अर्घाखाँची वैशाख २१ । सन्धिखर्क नगरपालिका स्तरीय तेस्रो रनिङशिल्ड प्रतियोगिता विहिबार देखि सुरु भएको छ । 
खेलको एक कार्यक्रमका बीच स्थानीय विकास अधिकारी प्रदिप पौडेलले सटपुट बल फालेर उद्घाटन गरे । खेलको उद्घाटन गर्दै पौडेलले स्थानीय स्तरमा हुने खेलहरुबाट नै खेलाडीको क्षमता विकास हुने बताए । उनले खेलाडीहरुलाई खेल खेल्नका लागि आवश्यक पर्ने साधन-श्रोतको व्यवस्था मिलाउन सकेमा मात्र उनीहरुको मनोबल बढ्ने बताए । ‘स्थानीय तहमा हुने यस प्रकारका प्रतियोगिताहरुबाट राष्ट्रिय स्तरका खेलाडी जन्माउन निकै सहयोग मिल्छ’ उनले भने, ‘खेलकुद प्रतियोगिताको आयोजना गरि खेलाडी उत्पादन गर्ने कार्यमा सरोकारवाला निकायको ध्यान जानु जरुरी हुन्छ ।
जिल्ला शिक्षा अधिकारी लिलबहादुर राउत क्षेत्रीले प्रतियोगितालाई स्वच्छ, मर्यादित ढंगले सञ्चालन गर्न आग्रह गरे । सन्धिखर्क नगरपालिकाका कार्यकारी अधिकृत जीवन ज्ञवालीले नगरपालिका क्षेत्रका खेलाडीहरुको उत्थानका लागि कार्यालय सहयोग गर्न तयार रहेको बताए । प्रतियोगितामा छात्र/छात्राका छुट्टाछुट्टै भलिवल, दौड, रिले दौड, हाईजम्प, लङजम्प, त्रिपलजम्प, सटपुट, ज्यावलिङ थ्रो, कपद्री खेल खेलाइने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सिद्धिप्रसाद भुसालले बताए । प्रगियोगितमा प्रथम हुने विद्यालयलाईलाई शिल्ड मेडल र प्रमाण पत्र, द्वितिय र तृतिय हुनेलाई विद्यालयलाई ट्रफी, मेडल र प्रमाण पत्रले पुरस्कृत गरिने छ । खेल २३ गते सम्म चल्ने छ । २४ गते देखि आठौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु हुने अध्यक्ष भुसालले जानकारी दिए ।
राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता गत चैत्रमा पूर्व प्रधानमन्त्री माधव नेपाललाई लिएर उद्घाटन गराउने तयारी खेलकुद विकास समितिले गरेको भएपनि प्रशासनले सुरक्षा दिन नसक्ने भन्दै खेल रोकेको थियो । प्रशासनले खेल रोकेका कारण ०७३ सालको नगरपालिका स्तरीय रनिङशिल्ड र राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता यतिबेला आयोजना गर्न लागिएको हो । बिहिबार छात्र-छात्रा तर्फका सटपुट र ज्यावलिङ थ्रो खेलाइएको छ । छात्र ज्यावलिङमा जनज्योति माविका सागर केसी प्रथम, भगवति माविका किशोर रायमाझी द्वितिय सन्धिखर्क ग्रिन इङलिस बोर्डिङ्गका रमेश शारु तृतिय भएका छन् । यस्तै छात्रा ज्यावलिङमा जनज्योति माविका अम्बिका नेपाली प्रथम, युवा वर्ष जनता रवि चत्र माविका बिवस्ना बिसी द्वितिय र ज्ञान प्रकाश मावि डिभर्नाका विनिता बस्याल तितृय भएका छिन् । सटपुट छात्रमा सन्धिखर्क ग्रिन इङलिस बोर्डिङ्गका रमेश शारु प्रथम, गौरीशंकर इङ्गलिस बोर्डिङ्गका आशिष श्रीपाली द्वितिय र भगवति माविका किशोर रायमाझी तृतिय भएका छन् । छात्रा सटपुटमा जनज्योति माविका अम्बिका नेपाली प्रथम, विजय मावि डिभर्नाका सिता राना द्वितिय र भगवति मावि शंखेटारीका कल्पना श्रेष्ठ तृतिय भएका छिन् । उनीहरुलाई मेडल र प्रमाण पत्र प्रदान गरिएको छ । 
कार्यक्रम जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सिद्धी प्रसाद भुसालको अध्यक्षता, शुशिला गैरेको स्वागत मन्तव्य र कार्यालय सचिव जनार्दन गैरेको संचालनमा सम्पन्न भएको हो ।