सन्धिखर्कमा ६ दिने आधारभूत लेखापालन तालिम सुरु

अर्जुन भुसाल 
सन्धिखर्क, अर्घाखाँची बैशाख २३ ।  डिभिजन सहकारी कार्यालय कपिलवस्तुको आयोजना र महिला तथा बालबालिका कार्यालय अर्घाखाँचीको  लागत सहभागितामा  सन्धिखर्कमा शनिबार देखि ६ दिने  आधारभूत सहभागितात्मक  लेखापालन तालिम सुरु भएको छ । तालिमको अर्घाखाँची जिल्ला वचत तथा ऋण सहकारी संघका अध्यक्ष प्रकाश भुसालले मैनवत्त प्रज्वलन गरि उद्घाटन गरे । 
उद्घाटन शत्रमा बोल्दै भुसालले सहकारीको सबै भन्दा महत्वपूर्ण पाटो लेखा भएको भन्दै लेखालाई चस्तदुरुस्त राखे मात्र सहकारीले सफलता हात पार्न सक्ने बताए । ‘लेखा सम्बन्धी ज्ञान नहुँदा भुलवश कमजोरीहरु हुने गर्छन’ उनले भने, ‘यस्ता तालिमबाट लेखा सम्वन्धी ज्ञान लिन धेरै मद्दत मिल्छ ।’ उनले बेला मौकामा हुने तालिमले सहकारीकर्मीहरु प्रशिक्षित बन्दै गइरहेको बताए । 
 डिभिजन सहकारी कार्यालयका प्रमुख  ऋषिराम पौडेलले दीगो विकास प्राप्तिका लागि सहकारी अपरिहार्य बनेको भन्दै सहकारी मार्फत मुलुकलाई समृद्ध बनाउन सकिने बताए । उनले  ग्रामिण स्तरका सहकारीहरुमा लेखा प्रणाली कमजोर हुने गरेको भन्दै लेखा पारदर्शी भएमा सहकारीका धेरै पक्ष सवल हुने बताए ।  उनले  तालिमलाई  उपलब्धी मूलक बनाउन आग्रह गर्दै सिकेका कुरालाई व्यवहारमा उतार्न पर्ने बताए । 
कार्यक्रममा डिभिजन सहकारी कार्यालयकी पार्वती ज्ञवाली, महिला तथा बालबालिका कार्यालयका सहलेखापाल कुवेर प्रसाद भुसाल पत्रकार महासंघका सदस्य अर्जुन भुसालले तालिम सफलताको शुभकामना मन्तव्य राखेका थिए ।  तालिममा जिल्ला भरका महिला बचत तथा ऋण सहकारीका प्रतिनिधिहरु सहभागी छन् ।