अर्घाखाँचीमा कांग्रेसले सकेसम्म एमालेसँग नत्र माओवादी केन्द्रसँग तालमेल गर्ने, राष्ट्रिय जनमोर्चा पनि तालमेल छलफलमा

नेपाली कांग्रेस पाणिनी गाउँ पालिकाद्वारा दुर्गाफाट्मा आयोजित चुनावी आमसभा ।  

अर्घाखाँचीमा माओवादी केन्द्रसँग तालमेल गर्दा थोरै राहत तर एमालेसँग तालमेल भएमा सजिलै जित्न सकिने कांग्रसको आँकलन छ । राष्ट्रिय जनमोर्चाले पनि तालमेलमा छलफल चलाइरहेको छ । 

 वीरेन्द्र केसी
 सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँचीमा एमालेबाट छनोट भएका उम्मेदवार गाउँमा खुलेर मत माग्न जान सकेका छैनन् । टिकट पाइए पनि तालमेल हुने सम्भावनाले उनीहरू खुलेर मतदाताको घरदैलोमा जान नसकेका हुन् । सहमति भएमा उम्मेदवारी खोसिने चिन्ता छ । चुनावी तालमेलका लागि एमालेले कांग्रेस र माओवादी केन्द्रसँग समानान्तर छलफल चलाइरहेको छ ।
एमालेको ५ नम्बर प्रदेश कमिटी बैठकले नगर र गाउँपालिकामा उम्मेदवार छनोट गरेको थियो । मेयर र गाउँपालिका अध्यक्षमा एक जना मात्रै उम्मेदवार तोके पनि उपमेयर र उपाध्यक्षमा दुई जनाको नाम छनोट गरेको छ । तालमेलका विषयमा कांग्रेस र माओवादी केन्द्र पनि अन्योलमा छन् । दुवै पार्टीका आकांक्षी पनि तालमेलमा नपरिने हो कि भन्ने चिन्तामा छन् ।
अर्घाखाँचीमा दोस्रो चरणमा चुनाव हुनेछ । मिति सरेपछि जिल्लामा चुनावी गतिविधि सुस्ताएको छ । ‘तालमेलको कुरा सुन्दा अन्योल भयो,’ एमालेबाट सन्धिखर्क नगरपालिकाका मेयर उम्मेदवार कृष्णप्रसाद श्रेष्ठले भने, ‘कि त पहिल्यै गर्नुपथ्र्यो । अब उम्मेदवार तोकेपछि कसलाई ब्याक गराउने ? अब तालमेल होइन, हार-जितलाई स्वीकार्ने गरी सबै एक्लाएक्लै चुनाव लडने सहमति गर्नुपर्छ ।’ 
‘पार्टीले उम्मेदवार बनाएपछि मनमा हर्ष र त्रास दुवै छ,’ एक उम्मेदवारले भने, ‘एमालेले अर्काे पार्टीसँग तालमेल गर्दा पद जोगियो भने जित्नेमा ढुक्क छु । तर, अर्काे पार्टीमा गएमा मेलै पाएको उम्मेदवारी खोसिने हो कि भन्ने त्रास छ । कांग्रेस, माओवादी तालमेल भएमा हारिने चिन्ता छ । अलमल नै भयो ।’
सहमतिको ढोका खुलै राखेको दाबी गर्दै दुई जनाको नाम छनोट गरिएको एमाले जिल्ला अध्यक्ष चेतनारायण आचार्यले बताए ।
तालमेलको छलफलले कांग्रेसभित्र उम्मेदवारका आकांक्षीको ताँती नै लागेको छ । एक्लै लड्दा थोरै आकांक्षी थिए । माओवादीसँग तालमेल गर्दा थोरै राहत होला तर एमालेसँग तालमेल भएमा सजिलै जित्न सकिने आँकलन गर्दै कांग्रसभित्र उम्मेदवारका आकांक्षी बढेका छन् । ‘छलफल त चलिरहेको छ तर कतै कुरा मिल्न सकेको छैन,’ कांग्रेस सभापति विष्णु मुस्कानले भने, ‘तालमेल होला र उम्मेदवार छनोट गरौला भनेर एमाले र माओवादीसँग छलफल चले पनि टुंगोमा पुग्न सकिएको छैन । को सँग तालमेल गरेर जाने भन्नेमा अन्योल रहेकाले उम्मेदवार तय गर्न समस्या भयो ।’
माओवादी केन्द्रले कांग्रेस र एमालेसँग सन्धिखर्क नगरपालिकाको मेयर माग गरेको छ । दुवै पार्टी माओवादीलाई मेयर दिन तयार नभएपछि बारम्बार भइरहेको छलफल टुंगोमा पुग्न नसकेको हो ।
नगर र गाउँको कार्यकारी पदमा कांग्रेस-एमालेकै प्रतिस्पर्धा हुने देखिएपछि आफ्नो अस्तित्व जोगाउन माओवादीले दुई ठूला दलमध्ये एक दलसित तालमेलको कसरतमा जुटेको छ । राष्ट्रिय जनमोर्चाले पनि तालमेलमा छलफल चलाइरहेको छ । राप्रपा, नयाँशक्ति, मालेलगायतका साना दल उम्मेदवारैबिना गाउँमा चुनावी कार्यक्रम लिएर हिँडेका छन् ।
छत्रदेव गाउँपालिकाको प्रमुखमा कांग्रेसका १२ जना आकांक्षी छन् । कांग्रेसको जनाधार राम्रो भएको भन्दै आफूलाई उम्मेदवार बनाउन सबै नेताको घर धाइरहेका छन् । तीमध्ये ९ जना आकांक्षी एकै पटक चुनावी कार्यक्रम लिएर सबै गाउँमा पुगेका छन् । 
पाकाभन्दा युवा नेता धेरै छन् । ‘सबै उम्मेदवारका आकांक्षी भेटघाटमा व्यस्त छौं,’ गाउँ प्रमुखका आकांक्षी बाबुराम पौडेलले भने, ‘हामी मध्ये जसलाई पार्टीले उम्मेदवार बनाउँछ त्यसैलाई भोट दिएर जिताउनुहोला भनेर कार्यकर्तालाई भनेका छौं ।’ खुला सभामा सबैले ‘हामी उम्मेदवारका आकांक्षी हौं तर उम्मेदवार हुने एक जनामात्र हो’ भन्न थालेपछि मतदाता चकित परेका छन् । 
नेपाली कांग्रेस पाणिनी गाउँ पालिकाद्वारा दुर्गाफाट्मा आयोजित चुनावी आमसभा ।