शितगंगा नगरपालिकाको जुकेना करापुकोटमा कालिका मन्दिरको उद्घाटन, पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नुपर्नेमा जोड

माधब न्योपाने
जुकेना, अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका-५ साविकको जुकेना गाविस-१ मा अवस्थित करापुकोटलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नुपर्नेमा सरोकारवाला निकायले जोड दिएका छन् । जिल्लाको दक्षिणी भेगमा अवस्थित उक्त क्षेत्रमा रहेको प्राकृतिक सौन्दर्य, धार्मिक स्थलहरु लगायतका कारणले उक्त क्षेत्र पर्यटकको लागि राम्रो सम्भावनाको रुपमा रहेको उनीहरुले बताए । 
बुधबार करापुकोटमा नवनिर्मित कालिका मन्दिरको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उक्त क्षेत्रका स्थानीयवासी तथा त्यस क्षेत्रका राजनैतिक दलहरु समेतले उक्त क्षेत्रमा पर्यटकको राम्रो सम्भावना भएपनि प्रचार प्रसारको कमीले करापुकोट लगायत आसपासका क्षेत्रहरु ओझेलमा परेको निस्कर्ष समेत निकालेका हुन् । 
पछिल्लो समय सबैले राष्ट्रवादका नारा लगाउँदै हिँडने गरेपनि स्थानीय क्षेत्रको विकास र प्रबद्र्धनमा चासो नदेखाउँदा करापुकोट लगायत देशका थुप्रै पर्यटकीय क्षेत्रहरु ओझेलमा पर्दै गएका छन् । कपिलबस्तुको गोरुसिंगे देखि अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क जोडने कालोपत्रे सडकमा अवस्थित चाक्ला बजारदेखि १० किलोमिटर उत्तरी भेगमा रहेको करापुकोटमा एकै ठाउँमा विभिन्न देवी देवताहरुको मन्दिर भएका कारण सो स्थानमा गई आफ्नो चाहाना अनुसार बरदान मागेको खण्डमा पुरा हुने जनविस्वास रहेका कारणले सो क्षेत्रमा दर्शन गर्न जाने भक्तजनहरुको भिड लाग्ने गर्दछ । तर उक्त क्षेत्रको प्रचार प्रसार र संरक्षण हुन नसक्दा त्यस क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा उल्लेख्य मात्रामा विकास गर्न नसकिएको हो । 
करापुकोटमा विभिन्न धार्मिक स्थल तथा मठमन्दिरहरु रहेपनि तिनिहरुको संरक्षण, प्रबद्र्धन र स्तरोन्नती गरी प्रचार प्रसार गर्न नसक्दा सो क्षेत्र पछाडी परेको भनी स्थानीय युवाहरुको सक्रीयतामा मन्दिर निर्माण अभियान सुरुवात गरिएको थियो । 
विशेष गरी गाउँमा रोजगारीको अभावमा विभिन्न खाडी मुलुकहरुमा विदेशिएका युवाहरुले मन्दिर निर्माणको लागि आर्थिक संकलन अभियान भन्ने अभियान संचालन गरी करिब ५ लाख रकम संकलन गरेर करापुकोटमा कालिका मन्दिरको निर्माण गरिएको हो ।
 सोही मन्दिरको उद्घाटन सत्रलाई सम्बोधन गर्दै पुनर्निर्माण प्राधिकरणका उपसचिव डा. भीष्म कुमार भुषालले देशमा विद्यमान भ्रष्टाचारीको अन्त्य नहुँदा सम्म कुनैपनि क्षेत्रको विकासले फडको मार्न नसक्ने बताए । कार्यक्रमको प्रमुख अतिथि समेत रहेका भुषालले देशमा स्थानीय निकायको निर्वाचनको माहोलको बारे बोल्दै अव निर्वाचनमा उम्मेदवारी दिने जो कोहीलेपनि राज्यको ढुकुटीबाट विकासको लागि प्राप्त रकम एक पैसापनि हिनामिना गर्दैन भनेर सम्झैता गर्न सकेमात्र उक्त व्यक्तिले देशको विकासको बारेमा प्रगति गर्नसक्ने बताए । स्थानीय स्तरमा विकासको गतिलाई बढाउनको लागि अब विकट क्षेत्रबाट विकसित क्षेत्रतर्फ बसाईसराई नभई विकट क्षेत्रलाई नै विकसित क्षेत्रको रुपमा विकास गर्न सकेमात्र देश विकास हुने समेत बताए । जिल्लाको दक्षिणी भेगमा अवस्थित उक्त क्षेत्रमा हालसम्म विद्युतको अभाव रहेको कुरालाई मध्येनजर गर्दै उनले आफ्नो अबको पहिलो प्रथमिकताको रुपमा त्यस क्षेत्रमा बिद्युतको व्यवस्थापन गर्नु रहेको प्रतिबद्धता जनाए । 
कार्यक्रममा सहभागि विभिन्न राजनैतिक दलहरुलेपनि अब स्थानीय स्तरमा लुकेर रहेका पर्यटकीय स्थलहरुको प्रचार प्रसार गर्न नसके देश विकास गर्छु भनेर स्थानीय जनताहरुलाई भ्रम छर्न नहुने बताएका थिए । 
कार्यक्रममा नेपाली कांग्रेसका नेता छविलाल पौडेलले जति आदर्शका कुरा गरेपनि स्थानीय स्तरको विकासमा नलागे अब देश विकास सम्भव नभएको स्वीकार गरे । नेकपा माओवादी केन्द्रका नेता मणिराम अधिकारीले देशमा व्याप्त भ्रष्टाचारको अन्त्य गरी स्थानीय स्तरको विकासमा सबै मिलेर लाग्नुपर्ने बताए । उनले अब संस्थाको बजेट खल्तीमा हैन खल्तीको बजेट संस्थामा हाल्न सक्ने व्यक्तिले स्थानीय स्तरको विकासमा जिम्मेवारी लिनुपर्ने बताए । 
उक्त क्षेत्रमा जिर्ण अवस्थामा रहेका दर्जनौं मन्दिरहरुको पुनर्निमाण गर्ने उद्देश्यले सुरुवात गरिएको उक्त अभियानमा सुरुमा कालिका मन्दिरको निर्माण गरिएपनि अब बिस्तारै त्यहाँ अवस्थित मालिका मन्दिर, शिब मन्दिर, भुमिकामाई लगायतका मन्दिरहरुको निर्माण गरिने मन्दिर निर्माणका लागि आर्थिक शंकलन अभियानका संयोजक पिताम्बर पाण्डेले बताए ।
कार्यक्रममा आर्थिक संकलन अभियानका संयोजक पिताम्बर पाण्डेले आम्दानी र खर्च विवरण प्रस्तुत गरेका थिए । 
Photo8
जुकेना स्थित थारपाइलामा निर्माण हुँदै गरेको सिमल पोखरी चैतारो । तस्बिर: छुमन भट्टराई