सन्धिखर्कमा हजारका नक्कली नोट फेला

सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा हजारका नक्कली नोट फेला परेका छन् । 
सन्धिखर्कको साईन रेसुंगा डेभलपमेन्ट बैंकमा आईताबार सेवाग्राहीबाट खातामा जम्मा गर्न ल्याइएको बेला एउटै नम्बरका तीन वटा हजारका  नोटहरू फेला परेका हुन् । 
च ३८ ५०७० ६८ नम्बरका ती हजारका  तीन वटा नोटमा राष्ट्र बैंकका गर्भनर युवराज खतिवडाको हस्ताक्षर रहेका छ । नक्कली नोटमा नम्बर दोहोरिएका छन् ।
नाम नखुलाइएका एक व्यापारीले आफ्नो ब्यबसायको रुपैया उठाउने सिलसिलामा सो रकम फेला परेको बताइएको छ । झट्ट हेर्दा सक्कलीजस्तै देखिने उक्त नोट केही छोटो र पातलो छ । फेला परेका नक्कली नोटलाई अनुसन्धानका लागि नेपाल राष्ट्र बैङ्क काठमाडौंमा पठाइने भएको छ ।
यस अघि पनि जिल्लामा नक्कली नोटहरू फेला पारेका थिए । अर्घाखाँचीका बैंकमा नै यसरी नक्कली नोट फेला परेपछि नक्कली नोटको कारोबार गर्ने गिरोह नै सक्रिय रहेको आशङ्का गरिएको छ ।
एक बैङ्करले अर्घाखाँचीडट्कमलाई भने अनुसार बैङ्कहरूमा रहेको फेकनोट डिटेक्टर मेशिनले सजिलै नक्कली नोट पत्ता लगाउँछ । तालिम प्राप्त कर्मचारीले पनि नक्कली नोट सजिलै पत्ता लगाउन सक्छन् । नक्कली नोट छुँदाखेरि नै फरक हुन्छ, बैङ्कका हरेक टेलरका कर्मचारी चनाखो बन्नुपर्ने देखिएको छ । नक्कली नोट बैङ्कका कर्मचारीले सजिलै पत्ता लगाउने भएकाले बजारका होटल, रेष्टुरेण्ट, व्यावसायिक क्षेत्र, सहकारी लगायतको माध्यमबाट गिरोहले बजारमा फैल्याएको हुनसक्ने अनुमान गरिएको छ ।  
नक्कली नोटको कारोबार गर्नेहरुलाई बिगोको ३ गुणासम्म जरिवाना, ३ वर्षसम्म कैद वा दुवै सजाय हुनसक्ने कानूनी प्राबधान छ । 
फेला परेका एउटै नम्बरका तीन वटा हजारका नोटहरू  यस्ता छन् :-  
तस्बिर: सहयोगी बिसी