राष्ट्रिय जनमोर्चा भुमिकास्थान नगरपालिकाको धनचौर देखि ढाकावाङ्ग सम्म चुनावी घरदैलो अभियान

गोपाल प्रसाद भट्टराई

धनचौर, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि अर्घाखाँची जिल्लामा चुनावी चहल पहल बढेको छ । दुई चरणमा निर्वाचन हुने भएपछि अर्घाखाँचीमा चुनावी गतिविधि केही सेलाएको थियो । राष्ट्रिय जनमोर्चाले भुमिकास्थान नगरपालिकाको धनचौर देखी ढाकावाङ्ग सम्मका दशवटै वडामा आज एकैसाथ घरदैलो अभियानको थालनी गरेको छ । 
पहिलो चरणको निर्वाचनको मतगणना जारी रहेको छ भने यता दोस्रो चरणको निर्वाचनका लागि राजनीतिक दलहरु तयारीमा जुटेका छन् । केही दलहरुले आफ्नो उम्मेदवार टुङ्गो नलगाए पनि चुनावी प्रचार(प्रसार भने तीव्र पारेका छन् । दलहरुले जिल्लाका विभिन्न क्षेत्रमा चुनाबी सभा,वडा भेला, घरदैलो अभियान चलाएका छन् । 
अर्घाखाँचीमा सबैभन्दा पहिले नै स्थानिय तहका उम्मेद्धारको टुङ्गो लगाएको राष्ट्रिय जनमोर्चाले पनि चुनाबी तयारीलाई तिब्रता दिएको छ । 
राष्ट्रिय जनमोर्चा केन्द्रिय समितिले आयोजन गरेको प्रथम चरणको प्रचार-प्रसार अभियानको समापन पछि जिल्लाका छ वटै स्थानिय तहमा आफ्ना उम्मेद्धार संगै घरदैलो अभियान सुरु गरेको राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले जनाएको छ । यस्तै कांग्रेस एमाले माओवादी केन्द्र लगायतका अन्य दलहरुपनि जित आफ्नो पोल्टामा पार्न गाउँ दौडाहा अभियानलाई ब्यापक बनाएका छन् । 
यसैबिच राष्ट्रिय जनमोर्चा भुमिकास्थान नगरपालिकाको आयोजनामा नगरका वडाहरुमा आजदेखी एकै साथ घर दैलो अभियान सुरु भएको छ । दशवटा वडा रहेको नगरपालिकामा आजबाट वडा अध्यक्ष सहितका उम्मेद्धारको नेतृत्वमा वाड स्तरमा र मेयर उप मेयरको नेतृत्वमा नगर स्तरिय छुट्टा-छुट्टै घर दैलो अभियानको सुरुवात  गरिएको राष्ट्रिय जनमोर्चा भुमिकास्थान नगरपालिकाले जानकारी दिएको छ । नगर स्तरिय टोलीले आज ढाकावाङ्गमा कार्यक्रमको उद्घाटन गरि अभियानको सुरुवात गरेको छ ।
रा.ज.मो.का बयोबृद्ध सक्रिय कार्यकर्ता जुद्ध बहादुर बैजालीको अध्यक्षता,कृष्ण खनालको स्वागत मन्तव्य र राम बहादुर नेपालीको संचालनमा सम्पन्न भएको उद्घाटन कार्यक्रममा राष्ट्रिय जनमोर्चाका नेता सागर के.सी., जिल्ला अध्यक्ष झविलाल थापा, मेयर पदका उम्मेद्धार कविराम खनाल, उप-मेयर पदकी उम्मेद्धार सकुन्तला राना, अखिल नेपाल युवक संघका केन्द्रिय महासचिव बाबुराम पन्थी र जिल्ला सह-सचिव ठाकुर पन्थीले मन्तव्य राख्दै राष्ट्रियतालाई मजबुद पार्दै देश विकास गर्नको निम्ती राष्ट्रिय जनमोर्चाका उम्मेद्धारलाई जिताउनुको बिकल्प नभएको बताउनुभयो । धनचौर देखी ढाकावाङ्ग सम्मका दशवटै वडामा आज एकैसाथ घरदैलो अभियानको थालनी गरिएको र ढाकावाङ्गबाट सुरु गरेको मुख्य टोलीले धनचौर पुगेर मात्रै घरदैलो अभियानको समापन गर्ने कार्यक्रम रहेको   छ । 
अर्घाखाँचीमा मुख्य ४ दल मध्ये नेकपा एमाले,नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले मेयर, उपमेयर, वडाअध्यक्ष लगायत पदमा आफ्नो उम्मेदवार टुङ्गो लगाए पनि नेपाली काँग्रेसले केहि उम्मेद्धारको छनोट गरेपनि जिल्लाका सबै क्षेत्रमा भने अझै उम्मेदवार टुङ्गो लगाउन सकेको छैन ।