अर्घाखाँचीमा एमाले र राष्ट्रिय जनमोर्चाका उम्मेदवार प्रचारमा व्यस्त, कांग्रेस-माओवादीको तालमेल छलफल जारी

वीरेन्द्र केसी 
सन्धिखर्क, अर्घाखाँची । उम्मेदवारी टुंगो लागिसकेका एमाले र राष्ट्रिय जनमोर्चा सम्बद्ध उम्मेदवार प्रचारमा व्यस्त छन । कांग्रेस र माओवादीले अहिलेसम्म टुंगो लगाउन नसक्दा आकांक्षी अलमलमा छन । तालमेल गरेर जाने विषयमा महिना दिनदेखि छलफल चले पनि पद बाँडफाँडमा कुरो नमिल्दा अन्योल भएको छ ।
राष्ट्रिय जनमोर्चाको भुमेकास्थान नगरपालिका वार्ड न ३ धारापानीमा भएको चुनावी भेलामा । 
माओवादीले कांग्रेस र एमालेसित धेरै पटक छलफल चलाए पनि कतै सहमति हुन सकेन । दोस्रो चरणमा चुनाव हुने भएपछि एमाले उम्मेदवार ढुक्कले प्रचारमा हिँडेका छन । एमालेबाट सन्धिखर्क नगरपालिका मेयरका उम्मेदवार कृष्णप्रसाद श्रेष्ठ र उपमेयर इश्वरा पोखरेल घरदैलो अभियानमा छन ।
छ नगर र छ गाउँपालिकामा एमाले नेतासहित उम्मेदवार भोट माग्दै सबैका घरमा हिडेका छन । ‘दोस्रो चरणमा चुनाव हुने भएपछि मतमाग्न सबैका घरमा जाने समय मिल्यो, श्रेष्ठले भने, मतदातासँग नमुना नगर विकासको बारेमा छलफल र अन्र्तक्रिया गरिरहेका छौ । हामी घरदैलो अभियानमै छौ ।’
राष्ट्रिय जनमोर्चाले भूमेकास्थान नगरपालिकामा आफनो जित्ने आधार मान्दै प्रचारमा डेढ महिनादेखि मेयरका उम्मेदवार कवि खनाल र उपमेयर सकुन्तला राना लागेका छन । शितगंगामा एमालेबाट मेयरका उम्मेदवार बसन्त श्रेष्ठ गाउँमा मत माग्न दौडधुपमा व्यस्त छन । एमाले र राजमोको उम्मेदवार पुगेका गाउँमा कांग्रेस र माओवादीले आफना उम्मेदवार छनोट गरेर प्रचारमा पढाउन अझै सकेको छैन । दुवै पार्टीका जिल्ला नेता चुनावी तालमेलको आशा गर्दै उम्मेदवार टुंगो लगाउन ढिलाई गरेका छन ।
नेकपा एमालेका मेयर उपमेयर सहितका उम्मेदवारहरुको चुनावी प्रचार अभियान भुमिकास्थान नगरपालिका वडान ५ असुरकोट । 
माओवादीसँग तालमेल होला र उम्मेदवार छनोट गरेर प्रचारमा जुटौला भनेर जति छलफल गरेपनि सहमति नभएको कांग्रेस सभापति विष्णु मुस्कानले बताए । ‘अब तालमेलको संभावना छैन’, उनले भने, ‘बैठक बसेर छिटै उम्मेदवार छनोट गरेर भोट माग्न गाउँ पठाउछौ ।’
माओवादी केन्द्र पनि एकदुई दिनभित्रै उम्मेदवार छनोट गर्ने तयारीमा छ । ‘तालमेलको छलफल जारी छ,’ केन्द्रकी सहसंयोजक छमकुमारी थापाले भनिन, ‘उम्मेदवार छनोट नगर्दा कमजोर जस्तो देखियो ।’ कसैसँग पनि तालमेल गर्न नहुने भन्दै कांग्रेसभित्र कार्यकर्ताले नेतृत्वलाई दवाव दिएका छन ।