अर्घाखाँचीमा कांग्रेस र एमालेसँग तालमेल नहुने भएपछि माओवादी केन्द्रले बल्ल उम्मेदवार छनोट गर्‍यो

वीरेन्द्र केसी
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लामा नेपाली कांग्रेस र नेकपा एमालेसँग तालमेल नहुने भएपछि माओवादी केन्द्रले उम्मेदवार छनोट गरेको छ । महिना दिनदेखि चुनावी तालमेलका लागि छलफल चलिरहेको थियो । पद बाँडफाँडमा कुरा नमिलेपछि केन्द्रका उम्मेदवार भोट माग्न प्रचारमा जुटेका हुन् । माओवादी केन्द्रले तीन नगर र तीन गाउँपालिकामा प्रमुख र उपप्रमुख छनोट गरेको छ । 
सन्धिखर्क नगरपालिकाको मेयरमा ठाकुरकुमार विक र उपमा कमला भुसाललाई तोकेको छ । शीतगंगा नगर मेयरमा टीका रेश्मी र उपमा सीता अधिकारी, भूमेकास्थान नगरको मेयर रेशम थापा र उपमा छमकुमारी थापा छनोट भएका छन् । 
पाणिनि गाउँपालिका प्रमुखमा जागिर हुसेन र उपमा विमला घिमिरे, छत्रदेवको प्रमुख प्रकाश ज्ञवाली र उपमा विष्णुमाया रायमाझी, मालारानीको प्रमुखमा पदम क्षत्री र उपमा सीता विक छन् ।