खाँचीकोटका गहतेडाँडा, डिहिखोलामा एमालेका चुनावी सभाहरु सम्पन्न

 Image result for डिहीडाँडा arghakhanchi
गहतेडाँडा । 
अर्जुन भुसाल 
डिहिखोला, अर्घाखाँची जेठ  १०  । सन्धिखर्क नगरपालिका वडा नम्वर ७  खाँचीकोटका   विभिन्न ठाउँमा नेकपा एमालेका चुनावी सभाहरु सम्पन्न भएका छन् । वडा नम्वर ७ गहतेडाँडा, डिहिखोला   लगायतका ठाउँमा  चुनावी सभाहरु सम्पन्न भएका हुन ।  
नेकपा एमाले केन्द्रीय स्कूल विभागका सदस्य बुद्धिबहादुर रायमाझीको प्रमुख आतिथ्यतामा  सभाहरु भएका हुन ।  कार्यक्रममा सन्धिखर्क नगरपालिकाका मेयर पदका उम्मेद्वार कृष्ण प्रसाद श्रेष्ठ, उपमेयरकी उम्मेद्वार इश्वरा पोख्रेल,  जिल्ला कमिटी सचिवलाय सदस्य बुद्धिराम  भुसाल, सन्धिखर्क विशेष नगर कमिटीका संयोजक युवराज श्रेष्ठ, सचिव श्रीकृष्ण भुसाल, बुद्धिजिवि मुकुन्दराज आचार्य, पूर्व खाँचीकोट गाविस अध्यक्ष सिद्धि ज्ञवाली, वडा नम्वर ७ का वडा अध्यक्ष पदका उम्मेदवार लक्ष्मण कंडेल लगायतले मन्तव्य राखेका थिए । 
कार्यक्रममा बोल्दै सन्धिखर्क नगरपालिकाका मेयर पदका उम्मेदवार कृष्ण प्रसाद श्रेष्ठले आसन्न  जेठ ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनमा सन्धिखर्क नगरपालिकाको मेयर पदमा आफूले भारी मतले विजयी हासिल गर्ने दावी गर्नुभयो । उहाँले आफू सामाजिक कामदेखि विकास निर्माणका काममा  लागिरहेकाले विजयी हासिल गर्न सहज हुने बताउनुभयो ।  उहाँले मेयर-उपमेयर लगायतका सबै पदमा विजयी हासिल गरेपछि सन्धिखर्कलाई सुन्दर, हरावरा पर्यटकीय क्षेत्र बनाउने बताउनु भयो । श्रेष्ठले मुलुकलाई सहि दिशामा डो-याउन सक्ने क्षमता एमालेसँग मात्रै भएको भन्दै एमालेका उम्मेदवारहरुले विजयी हासिल गरेपछि मुलुक कायापलट हुने बताउनु भयो । उहाँले एमालेको सरकार बनेपछि  वृद्धाभत्ता पाँच पुग्ने भन्दै सन्धिखर्क नगरपालिकाको तर्फबाट पाँच सय  भत्ता थप गरिदिने बताउनु भयो ।  उहाँले स्वास्थ्य उपचार नपाएर नगरवासीले पीडा खेप्नु नपर्ने बताउँदै स्वास्थ्य वीमा गरेर उपचारको व्यवस्था मिलाइने बताउनुभयो । 
कार्यक्रम रामप्रसाद पौडेलको अध्यक्षता र  प्रेम नारायण भुसालको सञ्चालनमा सम्पन्न भएको हो । यसैबीच सन्धिखर्क नगरपालिका वडा नम्वर १ र २ का विभिन्न ठाउँमा  घर दैलो अभियान सम्पन्न गरिएको छ । वडा नम्वर १ का अध्यक्ष पदका उम्मेद्वार युवराज वञ्जाडे र वडा नम्वर २ का वडा अध्यक्ष पदका उम्मेदवार मोतिजङ्ग रायमाझीले सबै पदमा  मत दिई विजयी गराउन मतदातासँग आग्रह गरेका थिए ।