अर्घाका टारी, काभ्रे, हिले, अर्घा मैदान लगायतका ठाउँमा एमालेका चुनावी सभाहरु सम्पन्न

 अर्जुन भुसाल 

अर्घा मैदान, अर्घाखाँची जेठ  १२  । सन्धिखर्क नगरपालिका वडा नम्वर ९  अर्घाका विभिन्न  विभिन्न ठाउँमा नेकपा एमालेका चुनावी सभाहरु सम्पन्न भएका छन् । वडा नम्वर ९ का  टारी, काभ्रे, हिले, अर्घा मैदान लगायतका ठाउँमा सभाहरु सम्पन्न भएका हुन ।
 सभालाई सम्वोधन गर्दै कार्यक्रमका  प्रमुख अतिथि नेकपा एमालेका जिल्ला कमिटी अध्यक्ष चेतनारायण आचार्यले जिल्लाका ६ ओटा स्थानीय तह मध्ये अधिकांश ठाउँमा एमालेले विजयी हासिल गर्ने दावी गर्नुभयो । उहाँले एमालेको जितले मात्र हरेक क्षेत्रको विकास संभव भएको भन्दै जनताले बुझेरै एमालेलाई पहिलो पार्टी बनाएको बताउनुभयो । एमालेको नौ महिने शासन कालमा भएका लोकप्रिय कार्यक्रम र केपि ओली सरकारले गरेका कामहरुबाट जनता निकै प्रभावित बनेको बताउनुभयो । प्रदेश र संघको निर्वाचनमा एमालेले दुई तिहाइ बहुमत ल्याउने दावी गर्दै उहाँले त्यसपछि बनेको स्थायी सरकारले विकासलाई तीब्रता दिने बताउनुभयो ।  
सन्धिखर्क नगरपालिकाका मेयर पदका उम्मेद्वार कृष्ण प्रसाद श्रेष्ठले  स्थानीय तहको निर्वाचनमा आफ्नो टिमको जित सुनिश्चित भएको भन्दै विजयी हासिल गरेपछि सन्धिखर्क नगरपालिकालाई मुलुककै नमूना नगरपालिकाको रुपमा विकास गर्ने बताउनुभयो । उहाले सन्धिखर्क नगरपालिकालाई सुन्दर, हरावरा र पर्यटकीय गन्तव्यको रुपमा परिचित गराउने बताउनुभयो । उहाँले नगरपालिकाका विभिन्न ठाउँमा खानेपानीको समस्या भएको भन्दै लिफ्टिङ्ग प्रविधि वा अन्य प्रविधि मार्फत खानेपानीको आपूर्ति सहज बनाउने बताउनुभयो । उहाँले हरेक प्रकारका विकास निर्माणका कामहरुलाई दु्रत गतिमा अघि बढाउने गरि योजना तयार गरिएको बताउनुभयो । 
 
कार्यक्रममा नेकपा एमाले केन्द्रीय स्कूल विभागका सदस्य बुद्धिबहादुर रायमाझी, सन्धिखर्क नगरपालिकाकी उपमेयर पदकी उममेद्वार इश्वरा पोख्रेल, सन्धिखर्क  विशेष नगर कमिटीका संयोजक युवराज श्रेष्ठ, जिल्ला कमिटी सचिवलाय सदस्य सरोज भुसाल, सचिवालय सदस्य तथा वडा नम्वर ९ वडा अध्यक्षका उम्मेद्वार भोजबहादुर गन्धर्व, जिल्ला कमिटी सदस्य तथा सन्धिखर्क २ का वडा अध्यक्षका उम्मेद्वार मोतिजङ्ग रायमाझी, सन्धिखर्क नगर कमिटीका सचिव श्रीकृष्ण भुसाल,   लगायतले मन्तव्य राखेका थिए ।