अर्जुन भुसाल
अर्घाखाँची जेठ १५ । सन्धिखर्क नगरपालिका वडा नम्वर ११ डिभर्नाका विभिन्न ठाउँमा नेकपा एमालेका चुनावी सभाहरु सम्पन्न भएका छन् । वडा नम्वर ११ को भैंसीथला, जोगिमारे, अमिले लगायतका ठाउँमा सभाहरु सम्पन्न भएका हुन ।
सभालाई सम्वोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय स्कूल विभागका सदस्य बुद्धिबहादुर रायमाझीले एमालले दोस्रो तहको निर्वाचनमा भारी वहुमतले विजयी हासिल गर्ने दावी गर्नुभयो । उहाँले जिल्लाको सन्धिखर्क नगरपालिका सहित अधिकांश ठाउँमा एमालेका उम्मेद्वाहरुको जित सुनिश्चित रहेका बताउँदै एमालेको जितलाई कसैले पनि रोक्न नसक्ने बताउनुभयो ।
सन्धिखर्क नगरपालिकाका मेयर पदका उम्मेद्वार कृष्णप्रसाद श्रेष्ठले जेठ ३१ गते हुन लागेको दोस्रो चरणको निर्वाचनमा आफ्नो टिमले भारी मतले विजयी हासिल गर्ने बताउनुभयो । उहाँले मेयर पदमा विजयी हासिल गरेपछि एक घर एक रोजगारको ग्यारेण्टी गर्ने बताउनुभयो । उहाँले कृषि, पशुपालन र पर्यटन उद्योगको विस्तार गरि रोजगारी सिर्जना गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले नगरलाई स्मार्ट सिटीका रुपमा विकास गरि सन्धिखर्कलाई मुलुककै नमूना नगरपालिका बनाउने बताउनुभयो ।
उममेयर पदकी उम्मेद्वार इश्वरा पोख्रेलले महिला, दलित, वृद्धवृद्धाहरुका लागि राहतका कार्यक्रम सञ्चालन गर्ने भन्दै एमालेले मात्रै सबै वर्गका नागरिकको उत्थान गर्ने बताउनुभयो ।
कार्यक्रममा जिल्ला कमिटी सचिवालय सदस्यहरु वुद्धिराम भुसाल, सरोज भुसाल, सन्धिखर्क विशेष नगर कमिटी संयोजक युवराज श्रेष्ठ, सचिव श्रीकृष्ण भुसाल, वडा नं. ११ वडा अध्यक्षका उम्मेद्वार धु्रवराज आचार्य लगायतको आतिथ्यता रहेको थियो ।