सन्धिखर्क नगरपालिकामा सबै उम्मेदवारको एउटै एजेन्डा स्मार्ट सिटी

दाँयाबाट क्रमश सन्धिखर्क नगरपालिकाका मेयर पद उम्मेदवारहरु:-  माओबादी केन्द्र ठाकुर कुमार बिक, कांग्रेस कमल प्रसाद भुसाल, एमाले कृष्ण प्रसाद श्रेष्ठ, राष्ट्रिय जनमोर्चा कल्पना पोख्रेल ।

वीरेन्द्र केसी कान्तिपुर
सन्धिखर्क अर्घाखाँची । सन्धिखर्क नगरपालिकामा मेयर र उपमेयरका उम्मेदवारहरूले मिल्दाजुल्दा विकासका एजेन्डा लिएर भोट मागिरहेका छन् । सबै उम्मेदवारको एजेन्डा एउटै छ, स्मार्ट सिटी । चुनावीसभामा उम्मेदवारले राजनीतिक भाषणमा भन्दा विकासे एजेन्डामा बढी जोड दिएका छन् । 
उनीहरूले आर्थिक समृद्धि, पर्यटन पूर्वाधार निर्माण, अर्घाभगवती विमानस्थल निर्माण, दूध, अन्डा र मासुमा आत्मनिर्भर, सहकारीमार्फत कृषिमा आधुनिकीकरण, हरियाली र प्रदूषणमुक्त नगर । त्यस्तै लिफ्टबाट खानेपानीको व्यवस्था, चक्रपथ निर्माण र उद्यमशीलता तालिमबाट एक घर एक स्वरोजगारलगायत एजेन्डालाई कसैले छुटाएका छैनन् । 
कांग्रेस, एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चालगायत अन्य साना दलले पनि उस्तै-उस्तै एजेन्डा प्रस्तुत गरेका छन् । सबै उम्मेदवार नगरका गाउँमा चुनावी सभा, भेटघाट, अन्तक्र्रिया र छलफलमा छन् । आफूले उठाएका एजेन्डामा गाउँका मतदाताले उठाएका विकास योजनाका मागलाई समेत पूरा गर्ने आश्वासन दिएका छन् । उम्मेदवारले आफ्ना पार्टीका नेता लिएर चुनाव जित्ने रणनीतिमा गाउँ पुगेका छन् । 
कांग्रेस उम्मेदवार कमलप्रसाद भुसालले आफूले जिते ५ वर्षभित्र स्मार्ट सिटी बनाउने बताए । आधुनिक कृषि प्रणाली अपनाएर कृषि र पशुपालनमा वृद्धि गर्ने र उद्यमशीलता तालिमबाट एक घर एक रोजगारको व्यवस्था गर्ने उनले बताए । ‘अर्घाखाँची सुक्खाग्रस्त छ,’ उनले भने, ‘धेरै गाउँमा खानेपानीको समस्या छ । मुहानको स्रोत नभएका ठाउँमा लिफ्ट प्रविधिमार्फत खोलाको पानी डाँडोमा तानेर पिउने पानीको सुविधा उपलब्ध र समथर खेतीयोग्य जमिनमा युवालाई कृषि उत्पादनमा लगाउने बताए ।
स्मार्ट सिटी निर्माणका लागि पहिलो पर्यटन, कृषि र पूर्वाधार विकास भएको एमाले उम्मेदवार कृष्णप्रसाद श्रेष्ठले बताए । अर्घाभगवती विमानस्थल २ वर्षभित्र सञ्चालन, घेरको लेकमा प्याराग्लाइडिङ, नरपानीलाई पिकनिक स्पोर्ट र सुपादेउरालीदेखि मसिनाको लेकमा पैदमार्ग बनाउने लक्ष्य रहेको उनले बताए । लुम्बिनी आउने पर्यटकलाई पूर्वाधार बनाएर भित्र्याउने र सुपादेउराली आएका धार्मिक पर्यटकलाई नरपानीमा बस्ने रिसोर्ट र घरमा होमस्टे सञ्चालन गर्ने उनले बताए । सहकारीमार्फत कृषिमा सामूहिक खेती प्रणाली अपनाएर स्वरोजगार बनाउने र उत्पादनमा आत्मर्निभर गराउने आफ्नो एजेन्डा रहेको उनले बताए ।
सदरमुकामलाई हरियाली र प्रदूषणमुक्त बनाउने सबैले आफ्नो प्रतिबद्धतामा उल्लेख गरेका छन् । माओवादी केन्द्रबाट मेयरका उम्मेदवार ठाकुरकुमार विकका पनि उस्तै एजेन्डा छन् । सबैका एजेन्डा मिल्दाजुल्दा भए पनि भाषणमा प्रस्तुतीकरण आ-आफ्नै छ । निर्वाचन क्षेत्र नम्बर १ बाट दुई पटक चुनाव जितेर उपप्रधानमन्त्रीसमेत भएका टोपबहादुर रायमाझीले भित्र्याएका विकास योजना पूरा गर्नुछ भन्दै भोट माग्न घरदैलोमा पुगेका छन् ।