गीता भण्डारी
खिल्जी, अर्घाखाँची २० ज्येष्ठ । दोस्रो चरणमा हुन गईरहेको स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेस अर्घाखाँचीले चुनावी प्रचारप्रसारलाई तिव्रता दिएको छ । जिल्लामा रहेका तीन नगरपालिका र तीन गाउँपालिकामा विभिन्न तहका लागि कांग्रेसले उम्मेदवार चयन गरिसकेको छ ।
उम्मेदवार छनौट भईसकेपछि टिकट पाएका कांग्रेसका नेता चुनावि प्रचारप्रसारलाई तिव्रता दिन थालेका छन् । भुमिकास्थान नगरपालिका वडा नं. ६ खिल्जीमा आज कांग्रेसले चुनावी प्रचारप्रसार तथा आमसभा सम्पन्न गरेको छ ।
चुनावि प्रचारप्रसार तथा आमसभालाई सम्बोधन गर्दै प्रमुख अतिथि पुर्वराज्यमन्त्री तथा नेपाली कांग्रेसका नेता रेवती प्रसाद भुसालले गाउँ गाउँमा विकास गर्नका लागि स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसलाई भारी मतले विजयी बनाउन आम समुदायलाई आग्रह गर्नुभयो ।
यस्तै भुमिकास्थान नगरपालिकाका मेयर पदका उम्मेदवार खडानन्द बेल्वासेले आफु विजयी भएमा आफुले पाउने सम्पुर्ण सेवा सुविधाबाट पाउने तलव भत्ता शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन, वृद्धवृद्धाको हितका लागि खर्च गर्ने बताउनुभयो ।
चुनावि प्रचारप्रसार तथा आमसभालाई विशिष्ट अतिथि कांग्रेस नेता लोकेन्द्र विक, भुमिकास्थान नगरपालिका उपमेयर पदका उम्मेदवार श्रृजना थापा, कांग्रेस नेतृ संगीता बेल्वासे, वडा नं। ६ का वडाध्यक्ष उम्मेदवार झविलाल बञ्जाडे, सदस्य बसन्ता बस्नेत, विमला परियार, सन्धिखर्क ८ का वडाध्यक्ष उम्मेदवार हुम प्रसाद बञ्जाडे लगायतले सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रम विनोद परियारको सचालनमा सम्पन्न भएको हो ।