नेपाली कांग्रेसको अर्घाखाँचीमा चुनावी प्रचार प्रसार तीब्र

प्रेम आचार्य
सन्धिखर्क , अर्घाखाँची २१ जेठ । दोस्रो चरणको स्थानीय तहको निर्वाचन अन्तर्गत सन्धिखर्क नगर समिति कांग्रेसले घरदैलो कार्यक्रमलाई तीव्रता दिएको छ । सोहि अनुसार सन्धिखर्क  वडा नं. २ कुरमा घरदैलो अभियान सम्पन्न भएको छ ।  
घरदैलो अभियानलाई सम्बोधन गर्दै सन्धिखर्क नगरका मेयर पदका उम्मेदवार कमल प्रसाद भुसालले कुरमा खानेपानीको मुख्य समस्या भएकाले समाधानका लागि आफुले पहल गर्ने बताउनु भएको छ । 
उहाँले आफुमा विभिन्न देश घुमेको अनुभव भएकाले सन्धिखर्क नगरलाई देशकै नमुनायोग्य नगर बनाउने बताउनु भयो । झण्डै १ महिनादेखि घरदैलो अभियानमा लाग्नु भएका भुसालले सन्धिखर्क वडा नं.१, २, ४, ५ लगायतका वडाहरुमा घरदैलो अभियान सम्पन्न गर्नुभएको छ । 
यसैगरी दोस्रो चरणको स्थानीय तहको निर्वाचन अन्तर्गत छत्रदेव गाउँपालिका कांग्रेसले घरदैलो कार्यक्रम आज सम्पन्न गरेको छ । 
नेपाली कांग्रेस छत्रदेव गाउँपालिका अध्यक्षका उम्मेदवार लेखनाथ पोख्रेलले आम नागरिक उत्साहजनक हौसला दिएकाले आफ्नो जीत सुनिश्चित भएको बताउनु भएको छ । 
भगवति र छत्रदेव वडाको घरदैलो अभियानलाई सम्बोधन गर्दै पोख्रेलले छत्रदेव गाउँपालिकाका हरेक वडामा खानेपानीको मुख्य समस्या भएकाले समस्या समाधान गर्न आफु लागि पर्ने बताउनु भयो । 
यस्तै भुमिकास्थान नगर समिति कांग्रेसले पनि आफ्नो चुनावि अभियानलाई तीव्रता दिएको छ । आज भुमिकास्थान नगरपालिकाको असुरकोटको जोईटारी, बुधमारा, रहखोला लगायतका ठाउँमा घरदैलो अभियान सम्पन्न गरेको छ । 
घरदैलो अभियानमा भुमिकास्थान नगरपालिका मेयर पदका उम्मेदवार खडानन्द बेल्वासेले आफुले मेयर पदमा आम नागरिकले जिताएमा राज्यबाट पाउने सेवा सुविधा दिनदुखी, असाहय, वृद्धवृद्धाहरुको लागी खर्च गर्ने बताउनु भयो ।
यसैगरी पाणिनी गाउँपालिका कांग्रेसले पनि आज विभिन्न वडामा घरदैलो अभियान सम्पन्न गरेको बताईएको छ । 
यस्तै पाणिनी गाउँपालिका वडा नं. ७ अड्गुरीमा पनि कांग्रेसले स्थानीय तहको निर्वाचनका लागि चुनावि प्रचारप्रसार तथा घरदैलो अभियानलाई तीव्रता दिएको छ ।
वडाध्यक्ष पदका उम्मेदवार अशोक कुमार श्रेष्ठले अड्गुरीका झन्द्रेक, माँझगाउँ, सतिनेटा, रानीगाउँ लगायतका गाउँमा पुगी स्थानीय गुनासाहरुलाई सम्बोधन गर्नका निम्ति छिट्टै पहल गर्ने बताउनु भएको छ ।