निर्वाचन नजिकिँदै गर्दा सन्धिखर्क सुनसान, नेता-कार्यकर्ता गाउँमा मतदाता रिझाउने होडबाजीमा

राष्ट्रिय जनमोर्चाको भूमिकास्थान नगारपालीका २ को घर दैलो भेट्घाटमा । 

– वीरेन्द्र केसी कान्तिपुर 
सन्धिखर्क, अर्घाखाँची । दोस्रो चरणको स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा बजार छाडेर नेता-कार्यकर्ता मतदाता रिझाउने होडबाजीमा गाउँ पसेका छन् । सदरमुकाम सन्धिखर्क भने सुनसानजस्तै भएको छ । 
सुनसान सन्धिखर्क ।
उम्मेदवारहरू घरदैलो गरेर आ-आफनो दलीय र व्यक्तिगत प्रतिबद्धता सार्वजनिक गर्दै मतदाताका घरआँगन पुगेका छन् । गाउँमा घरदैलो, छलफल र कोणसभा गरेर भोट माग्न उम्मेदवारलाई भ्याइनभ्याइ छ । आफ्ना उम्मेदवारलाई जिताउन केन्द्रीय नेतासमेत गाउँ पुगेका छन् । उम्मेदवार पार्टीको नीति र सिद्धान्तभन्दा विकासे नारा लिएर घरदैलोमा छन् ।
छत्रदेव गाउँपालिका प्रमुखमा कांग्रेसका उम्मेदवार लेखनाथ पोखरेल पार्टीले छनोट गर्नुभन्दा एक महिनाअघिदेखि आकांक्षीका रूपमा भोट माग्दै हिँडेका थिए । कांग्रेसले उम्मेदवार घोषणा गरेपछि खुलेरै भोट माग्न सहज भयो । उनका प्रतिस्पर्धामा एमालेबाट ऋषिराम अधिकारी र माओवादी केन्द्रका प्रकाश ज्ञवाली पनि दौडधुपमा छन् । कांग्रेस छाडेर केही वर्ष पहिले माओवादीमा प्रवेश गरेका ज्ञवालीले एमाले र कांग्रेसकै मत तान्ने कसरतमा छन् । 
अधिकारी २०५४ मा एमालेबाट चिदिका गाविसको अध्यक्षमा चुनिएका थिए । फेरि पार्टीले गाउँ प्रमुखमा उम्मेदवारी तोकेपछि ठेकेदार पेसा छाडेर जेठ पहिलो सातादेखि घर-घरमा पुगेर भोट माग्न व्यस्त छन् । निर्माण व्यवसायी संघका जिल्ला अध्यक्ष रहेका अधिकारी आफूले जितेमा गाउँलाई समृद्ध बनाउने उद्घोषका साथ घरदैलोमा व्यस्त छन् । 
पोखरेलले द्वन्द्वका बेला तत्कालीन विद्रोहीबाट मारिएका कांग्रेस नेता राममणि ज्ञवाली, पदमलोचन श्रेष्ठ र शिवलाल पोखरेलको सपना साकार पार्न आफू उम्मेदवार भएको दाबी गरे । तीन नेताले गाउँको विकास गरेका थिए । पूर्वी क्षेत्रमा लोकप्रिय थिए । उनीहरूले रेखांकन गरेको विकास योजनालाई पूरा गर्ने र विकसित गाउँ बनाउने ऐजेन्डा लिएर घर-घरमा पुगेको उनले बताए ।
छत्रदेव गाउँपालिकाको प्रमुखमा कांग्रेसबाट १२ जना आकांक्षी थिए । पार्टीले उम्मेदवार नतोक्दा सम्म सबैले आ-आफ्नो ढंगले कार्यकर्ताको घरमा पुगेर भोट मागे । पार्टीभित्र उम्मेदवार चयनमा सहमति नभएपछि चुनाव हुँदा तीन जना मात्रै प्रतिस्पर्धामा उत्रिए । पोखरेल र चन्द्रमान श्रेष्ठको बराबर मत खस्यो । गोलाप्रथाद्वारा पोखरेल उम्मेदवारमा छनोट भए । 
गाउँमा सबैका पार्टी सदस्य उम्मेदवारको पछि लागेर प्रचारमा हिँडेका छन्, छत्रगन्जका स्थानीय प्रकाशचन्द्र भट्टराईले भने, सबैका घरमा उम्मेदवारकै चर्चा छ । गाउँ चुनावमय भएको छ । आठ गाविस समेटिएर एउटा गाउँपालिका बनेको छ । चुनावी माहोल तातेको छ । अर्घाखाँचीका तीन गाउँ र तीन नगरपालिकाका उम्मेदवार घरदैलोमा व्यस्त छन् । जेठ पहिलो साता नै एमालेले सबै नगर, गाउँ र वडामा उम्मेदवार तोकिसकेको थियो । 
एमाले उम्मेदवारले एक मतदाताको घरमा दुई पटकसम्म पुगेर मत मागिरहेका छन् । अर्घाका स्थानीय जुद्धबहादुर खडकाले भोट माग्न सबै पार्टीका उम्मेदवार घरमा आएको बताए । मलाई र हाम्रो पार्टीका उम्मेदवारलाई भोट दिनुहोस् सन्धिखर्क नगरपालिकालाई स्मार्ट सिटी बनाउँछौं भन्दै आउँछन्, उनले भने ।
अधिकारसहित नयाँ संरचनाको चुनाव भएकाले भोट दिन आतुर भएको उनले बताए । एमालेबाट शीतगंगा नगर उपप्रमुख गीता भाटले एक पटक घरदैलो गरेर सकिएको र फेरि सभा, भेटघाट र छलफल गर्ने तयारी भइरहेको बताइन् । चुनाव सरेपछि मतदातासँग फेरि भेट्ने समय भएको उनले बताइन् । 
                                                                                                                                          सुनसान सन्धिखर्क ।

                                                                 राष्ट्रिय जनमोर्चाको भूमिकास्थान नगारपालीका २ को घर दैलो भेट्घाटमा ।