राष्ट्रिय जनमोर्चाको सन्धिखर्कमा चुनावी अगुवा कार्यकर्ता प्रशिक्षण भेला सम्पन्न

गोपाल प्रसाद भट्टराई
सन्धिखर्क, अर्घाखाँची । अखिल नेपाल कानुन व्याबसायी संघका केन्द्रिय अध्यक्ष पदम रोकाले देशमा अहिले राष्ट्रवादी र पुजिवादीहरुको संघर्ष चलिरहेको बताउँदै जनता सचेत नभएमा नेपालको राष्ट्रियता गुम्ने खतरा बढेको उद्घोष गर्नुभएको छ ।
स्थानिय निर्बाचनको संघारमा हिजो राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले सन्धिखर्कमा राखेको अगुवा कार्यकर्ता प्रशिक्षण भेलामा संबोधन गर्दै अध्यक्ष रोकाले पूंजिवादीहरुले सत्ता टिकाइ राख्न कालो धनलाई मतदाताहरुमा लगानी गरिरहेको आरोप लगाउँदै यसबाट नेपाली जनता सचेत बन्नुपर्ने बताउनुभएको छ ।
अर्घाखाँची जिल्लाका छ वटै पालिकाबाट राष्ट्रिय जनमोर्चाको तर्फबाट स्थानिय निर्बाचनमा भाग लिएका उम्मेद्धार नेता तथा कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको भेलामा मूख्य प्रशिक्षकको भूमिका निभाउनुभएका अध्यक्ष रोकाले बिभिन्न तहका निर्बाचनमा सर्वहारा बर्गको नेतृत्वले हार बेहोर्नुपरेको स्विकार गर्दै त्यो हार नेपाली जनता र देशकै हार भएको जिकिर गर्नुभयो ।
अध्यक्ष रोकाले नेपाली जनताले बिभिन्न प्रलोभनमा परेर पटक-पटक गल्ती गर्नाले देशले हारेको भन्दै आसन्न निर्बाचनमा जनताले स्व बिबेकले मत अधिकारको प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रिय जनमोर्चाका नेता सागर के.सी.को अध्यक्षता, पशुपति ढकालको स्वागत मन्तव्य र झविलाल थापाको संचालनमा सम्पन्न भएको प्रशिक्षण भेलामा राष्ट्रिय जनमोर्चाका केन्द्रिय नेता सुरेश थापा,शेर बहादुर बि.सी.लगायतले प्रशिक्षण दिनुभएको थियो ।