अर्घाखाँचीमा काँग्रेस र माअाेवादी केन्द्र बीच चुनावी तालमेल गर्न छलफल जारी

सन्धिखर्कमा नेपाली काँग्रेस र माअाेवादी केन्द्र का उम्मेदवार भोट चुनावी घरदैलोमा । 
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा नेपाली काँग्रेस र माअाेवादी केन्द्र बीचमा चुनावी तालमेल गर्न फेरी छलफल भएकाे छ । दुई दल बीच तल्लाे तहसम्म बाँडफाँडकाे लागि दलहरु अान्तरिक छलफलमा जुटेकाे स्राेतले जनाएकाे छ ।  
यसअघि माओवादी केन्द्रले कांग्रेससँग सन्धिखर्क नगरपालिकाको मेयर माग गरेको थियो । कांग्रेसले माओवादीलाई मेयर दिन तयार नभएपछि बारम्बार भइरहेको छलफल टुंगोमा पुग्न नसकेको थिएन् । स्रोतका अनुसार सन्धिखर्कमा मेयर कांग्रेस र उपमेयर माओवादीलाई दिएर तलमेल गर्ने बारेमा छलफल भएको छ । 
यसका साथै भूमिकास्थानमा माओवादी केन्द्रलाई मेयर र कांग्रेसलाई उपमेयर दिने गरी छलफल भएको स्रोतले बताएको छ । साथै शितागंगा नगरपालिका र अन्य २ गाउँपालिकामा कांग्रेस र एक गाउँपालिका प्रमुखमा माओवादी केन्द्रलाई दिने गरी छलफल भईरहेको स्रोतले बताएको छ । तर यसको आधिकारीक पुष्टी भने हुने सकेको छैन् ।    
नगर र गाउँको कार्यकारी पदमा कांग्रेस-एमालेकै प्रतिस्पर्धा हुने देखिएपछि आफ्नो अस्तित्व जोगाउन माओवादीले दुई ठूला दल कांग्रेस र एमाले मध्ये एक दलसित तालमेलको कसरतमा पहिले देखि जुटेको थियो । पछील्लो समय माओवादी केन्द्रका नेता टोप बहादुर रायमाझीले पनि कांग्रेससँग तालमेलको लागि कसरत गरिरहेको स्रोतले बताएको छ । 
साथै दुई दलबिच उम्मेदवारी मनोनयन असार ४ गते अगाडि तालमेल गरेर जाने प्रयास भईरहेको स्रोतले बताएको छ । 
छ नगर र छ गाउँपालिकामा सबै राजनीतिक दलका उम्मेदवार भोट माग्दै सबैका घरमा हिडेका छन । यस्तै माओवादी केन्द्र र कांग्रेस बिचमा तालमेलको छलफल शुरु भएपछि एमालेले पनि राष्ट्रिय जनमोर्चासँग तालमेल गर्ने मनस्थितीमा पुगेको स्रोतले बताएको छ । 
उता यसअघि कांग्रेस सभापति विष्णु मुस्कानले माअाेवादी केन्द्रसँग चुनावी तालमेलको  संभावना नरहेको बताएका थिए । 
उता निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवारी मनोनयन असार ४ गतेलाई तोकेको छ । यसअघि २ गते शुक्रबारलाई तोकिएको थियो । सरकारले प्रदेश २ को चुनाव तेस्रो चरणमा चुनाव असोज २ गते गर्ने निर्णयसँगै प्रदेश नम्बर १, ५ र ७ को मनोनयनको मिति सार्न आग्रह गरेलगत्तै बिहीबार आयोगले निर्णय लिएको हो ।