सन्धिखर्कको लदाम बगैंचाको मुहार फेरियो, पर्यटकीय गन्तव्य बन्दै

लदाम बगैंचाको बारेमा पत्रकार कमल बिष्टले तयार पारेको रिपोर्ट । 

घनश्याम पौडेल हिन्दुखबर
लदाम बगैंचा, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सदरमुकाममा रहेका शान्ति तथा लदाम बगैंचालाई आधुनिकीकरण तथा व्यवस्थापन अभियान सुरु भएको केही दिनमा नै लदाम बगैंचाको मुहार फेरिएको छ । पहिलो चरणमा लदाम बगैंचालाई पर्यटकीय गन्तव्य बनाउन लागिएको छ ।
बगैंचालाई आधुनिक र व्यवस्थित बनाइ पर्यटकीय स्थलको रूपमा  विकास गर्ने कार्यको थालनी गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी नारायण खत्रीले जिल्लाका पर्यटकीय स्थलहरूलाई आधुनिकीरण तथा व्यवस्थापन गर्न पहल गरेसँगै खत्रीको प्रयास तथा सबै क्षेत्रबाट सहयोग भई बगैंचालाई पर्यटकीय गन्तव्य बनाउन लागिएको छ  ।
लदाम आधुनिकीकरण तथा व्यवस्थापन गर्न नाप, नक्सा जाचँ गरी वैशाखमा प्रमुख जिल्ला अधिकारी डिल्लीराज पोख्रेलले शिलान्यास गरेका थिए ।
बगैंचामा स्वीमिङ पुल, पानीको फोरा, राम मन्दिर, बालयुवा तथा वृद्ध-वृद्धामैत्री पूर्वाधार विकास गर्ने, १२०० मिटर हरितमार्ग, बालबालिकाको मनोरञ्जनका लागि पिङ, झुला बनाउने, वरिपरि तारजाली लगाएर सुरक्षित गर्ने गरी कार्य अगाडि बढाएको अभियानता खत्रीले बताए ।
‘बगैंचालाई आकर्षक र मनोरम बनाउन  विभिन्न पूर्वाधार निर्माण कार्य अघि बढाइएको छ,’ खत्रीले भने, ‘बगैंचा व्यवस्थित  बनेपछि सन्धिखर्ककै प्रतिष्ठा बढ्छ ।’
बगैंचालाई हरित मैत्री बनाउन जिल्ला वन कार्यालयले ८ लाख रुपैयाँ विनियोजन गरेको छ । विभिन्न व्यक्तिहरूले  करिब १२ लाख सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । ‘पिक्निक तथा पार्टी हल, मिनी चिडियाघर, बेन्चहरू दुवो, विभिन्न जातका फुलहरू, सीसी क्यामेरा आदि पूर्वाधार निर्माण गर्ने गरी योजना तयार पार्दैछौं,’ खत्रीले भने ।  लदाम बगैंचा  करिब ३० रोपनी जग्गामा फैलिएको छ ।
यो संरक्षण र प्रचार-प्रसारको अभावमा ओझेलमा परेको बगैंचा हो । यहाँ  पिक्निक खानका लागि  जिल्लाका विभिन्न ठाउँबाट मानिसहरू आउने गर्छन् ।
बगैंचाको जग्गा २०११ सालमा सन्धिखर्क-४ वाङलाका खुमानन्द भण्डारीले  गोवद्र्धन पूजा गरी गाईलाई नुन हालेर दान दिएका थिए । खुमानन्दका नाति मुक्ति भण्डारीले आफ्ना हजुरबुवाले दान गरेको जग्गाको महत्व बुझेर सुन्दर, पर्यटकीय स्थल निर्माण गर्न लागिएको बताए ।
बन्दै गरेको बगैंचा हेर्नका लागी विहान र वेलुका फ्रेसका लागि दैनिक ५ सय देखि १ हजार जना अहिलेदेखि नै बगैंचा अवलोकन गर्न आउन लागेको खत्रीले बताए ।
खत्रीले सन्धिखर्कको मुख्य बजारमै रहेको शान्ति बगैंचालाई पनि सुन्दर, मनोरम बनाउन योजना अघि सारेका छन् ।
यसरी छोटो समयमा सहायक प्रमुख जिल्ला अधिकारीको पहलमा सुरु गरेको बगैंचा आधुनिकीकरण तथा व्यवस्थापन गर्नका लागि कम समय, स्रोत र साधनको कमी हुँदा-हुँदै पनी सोचेभन्दा धेरै काम भएको छ । नेपालमा गरेमा जे पनी सम्भव हुन्छ, प्रयास गरेमा विकास गर्न धेरै समय कुर्नुपर्दैन स्थानीयको भनाइ छ ।