बल्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा ३ डाक्टर, औषधिको कमि छैन

अर्घाखाँची डट्कम संवाददाता
बल्कोट, अर्घाखाँची  (अर्घाखाँची डट्कम) अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकाको बल्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा पहिलो पटक ३ जना मेडिकल अधिकृत कार्यरत रहेका छन् ।
नेपाल सरकारको स्थायी दरवन्दीमा डा. प्रकाश भट्टराई कार्यरत छन् भने नेपाल सरकारबाट छात्रवृत्ति प्राप्त गरी अध्ययन सकेका डा. सागर पोखरेल र डा. अर्पण पोरखेल लाई स्वास्थ्य सेवा विभागले बल्कोट पठाएपछि चिकित्सकहरुको संख्या ३ पुगेको हो ।
नेपाल सरकारबाट छात्रवृत्ति प्राप्त गरेका चिकित्सक तथा स्वास्थ्यकर्मी परिचालन निर्देशिका २०७१ मा नेपाल सरकारको सेवा गर्ने कबुलियत गरी छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सक तथा स्वास्थकर्मीले अनिवार्य रूपमा २ वर्ष दुर्गममा काम गर्नुपर्ने कुरा उल्लेख छ ।
गगन कुमार थापा स्वास्थ्यमन्त्री भएलगत्तै देशभरका सबै प्राथमिक स्वास्थ्य केन्द्रमा ३ महिनाभित्र अनिवार्य रूपमा चिकित्सक पु-याउन विशेष पहल गरेका थिए ।
स्वास्थ्य चौकीबाट प्राथमिक स्वास्थ्य केन्द्रको रुपमा स्तरोन्नती भएपश्चात तीन शैया क्षमताको प्राथमिक स्वास्थ्य केन्द्रमा एकजना डाक्टर, २ जना अहेब, १ जना स्टाफ नर्स, ३ जना अनमी र २ जना कार्यालय सहयोगीको दरबन्दी दरवन्दी भएपनी यति संख्यामा स्वास्थ्यकर्मी कार्यरत रहेको पहिलो पटक भएको स्थानीय हरु बताउछन् ।
रोग पहिचानका लागि रगत, दिशा, पिसाब लगाएत विभिन्न परिक्षण गर्नका लागि ल्याव असिष्टेन्ट रिक्त रहेको भएपनि क्षेत्रबाट करारमा नियुक्त गरी पठाईदिएकाले प्रयोगशाला सम्बन्धी कामका लागि सहज भएको छ । असार मसान्तबाट करारको म्याद सकिने भएकाले सेवा निरन्तर दिन सकिने नसकिनेमा द्धिविधा रहेको छ ।  
बल्कोट, केरुंगा, चिदिका, छत्रगञ्ज, पाली, वांगला लगाएतका बिरामीको चाप उच्च रहेपनि राजनैतिक कारणबाट डाक्टर हरु बस्ने वातावरण नभएको तथा आवश्यक औषधि तथा उपकरण सामाग्रीहरुको उपलब्धता नहुँदा प्राप्त हुने सेवाबाट बञ्चित हुनपरेको र हाल सो समस्या नरहेको प्रा.स्वा.के. ब्यवस्थापन समितिका अध्यक्ष विष्णु प्रसाद भुसाल बताउछन् ।
केन्द्रमा  चौबिसै घण्टा इमर्जेन्सी सेवा, सुरक्षित प्रसुति सेवा, सुरक्षित गर्भपतन सेवा, ल्याब सेवा, एक्स-रे सेवा, निशुल्क औषधी सेवा, ईसीजी, किशोरकिशोरीको लागी यौन तथा प्रजनन परामर्श सेवा, खोप सेवालगायत ओ.पि.डी. सेवा  सञ्चालनमा रहेको मेडिकल अधिकृत  डा. प्रकाश भट्टराई बताउछन् ।
स्वास्थ्य मन्त्रालयमा निवर्तमान स्वास्थ्य राज्यमन्त्रीज्यूको निजी सचिवको रुपमा कार्यरत बल्कोटका स्थानीय कृष्णराज पाण्डेको विशेष पहलमा विभिन्न उपकरणहरु जस्तै विरामीका लागि बेड, र्याक, अक्सिजन कन्सन्ट्रेटर, ब्हील चेयर, माईक्रोस्कोप, युएसजी मेसीन, मोटरसाईकल , आवश्यक औषधीहरु प्राप्त भएकाले पनी अन्य स्थानमा औषधिको कमि रहेको समाचार आएपनी बल्कोटमा सो को समस्या नरहेको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक हरि पन्थीले बताए ।
स्वास्थ्य केन्द्र स्तरोन्नती गरी १५ शैयाको अस्पताल बनाउन तथा  अस्पतालका नाममा एकवटा एम्बुलेन्स प्राप्त गर्नका लागि पनी आवश्यक पहल भैरहेको तर सरकार तथा मन्त्रीमण्डल हेरफेर भएका कारणले निश्चिन्त हुन नसकेको स्थानीय कृष्णराज पाण्डे बताउछन् ।
प्रा.स्वा.केन्द्रलाई स्तरोन्नती गरी १५ शैयाको अस्पतालको रुपमा सञ्चालन गर्नका भवन निर्माणकार्य सम्पन्न भई सकेको तर अझैसम्म मन्त्रीपरिषदबाट निर्णय भईसकेको छैन । साथै नवनिर्मित भवन केन्द्रका नाममा हस्तान्तरण भईनसकेकाले सेवाग्राहीको बढ्दो चाप सँगै कार्यस्थल साघुरो भएको छ ।
पुरानो भवनमा काम गर्नुपर्दा ओपिडि, सुत्केरी सेवा, ल्याव सेवा, औषधि वितरणका कामहरु गर्नका लागि असहज भएको छ साथै ३ जना मेडिकल अधिकृत लगाएत अन्य कर्मचारीलाई काम गर्न पनी अप्ठ्यारो परेको छ । प्रर्याप्त स्थान नहुदा विभागबाट ल्याएका नयाँ बेडसेट लगाएतका सामानहरु राख्ने ठाउ छैन । नयाँ भवनमा सरेपछि अलि ब्यवस्थित गरी सेवा सञ्चालन हुन्छ अहेव यादव खनालले भने ।
दम तथा श्वासप्रस्वासमा समस्या भएका विरामीहरुलाई अक्सिजन उत्पादन गरी एकै पटकमा ५,६ जनालाई अक्सिजन दिन सकिने अक्सिजन कन्सन्ट्रेटर विद्युतबाट सञ्चालन हुने भएकाले विद्युत आपूर्ति नभएको समयमा सो को हुन नसक्ने भएकाले केन्द्रमा एकवटा जेनेरेटरको आवश्यकता छ ।
गत वर्ष दैनिक २५-३० विरामीमात्र आउने रेकर्ड देखिएपनि हाल प्राथमिक स्वास्थ्य केन्द्रमा दैनिक ७०-८० विरामीले ओपिडि सेवा पाईरहेका छन् । प्रयाप्त स्थान र सवैको सहयोग प्राप्त हुने हो भने निकट भविष्यमा अन्तरंग सेवा विस्तार गर्न पनी सकिन्छ , भिडियो एक्स रे सेवा सञ्चालनमा रहेकाले सेवाको गुणस्तरमा वृद्धि भएको छ । सानो तिनो रोगका कारणले पनि विरामीलाई जिल्ला सदरमुकाम वा पाल्पा रिफर गर्नुपर्ने बाध्यता अन्त्य भएको मेडिकल अधिकृत डा. सागर पोखरेलले भने ।