नरपानीका जुम्ल्याहा दाजुभाई सन्धिखर्क नगरपालिका – ६ को वार्ड अध्यक्षमा प्रतिस्पर्दा


हरिप्रसाद भुसाल 
नरपानी, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नं. ६ नरपानीका धुर्व परियारको घरमा एमालेको तर्फबाट वार्ड अध्यक्षका उम्मेदवार प्रितम केसी कार्यकर्ता सहित भोट माग्न गए । एमाले समर्थित परियारको घरमा गएका प्रितम सहितको टोलीलाई परियारले भोट हाल्ने आश्वासन मात्र दिएनन संगै घरदैलो अभियान समेत गरे ।
प्रितमले भोट मागेको करीव तीन चार दिनपछि परियारको घरमा अर्को टोली भोट माग्न आए । संगै आएकाहरुले राष्ट्रिय जनमोर्चाको भोट मागीरहँदा परियार तीन छक्क परे । जहाँ केही दिन अघि एमालेको भोट माग्दै आएका प्रितमलाई पनि परियारले त्यो भिडमा देखे उनको कन्सिरी तातिहाल्यो । आफ्नो घरमा एउटै व्यक्ति फरक फरक पार्टीबाट भोट माग्न आएपछि आक्रोशित भएका परियारले यसलाई ठिक पार्नुपर्छ भन्दै उम्मेदवार तर्फ अगाडी बढिरहँदा परियारकै दाजु विष्णु परियारले रोके । विष्णु सम्झन्छन् “झण्डै हात हालाहालको अवस्था आएको थियो ।”
विष्णुले आँगनतिर लगेर सम्झाएपछि पो धुर्व झसंग भए । केही दिन अघि र आज भोट माग्न आउने मान्छे फरक फरक पो रहेछन् ।
त्यस वडामा राष्टिय जनमोर्चाबाट वडा अध्यक्षका उम्मेदवार बनेका पदम केसी र नेकपा एमालेबाट वडा अध्यक्षको उम्मेदवार बनेका प्रितम केसीलाई पहिलोपटक देख्नेहरु यसरी नै झुक्कने गरेका छन् । फरक फरक पार्टीबाट उम्मेदवार बनेका ठ्याक्कै अनुहार मिल्ने यी जुम्ल्याहा दाजुभाईको उम्मेदवारीले सवैलाई आश्चर्य चकित पारेको छ ।