मालारानी गाउँपालिकाको खनदहमा डाक्टरको लापरवाहीका कारण महिलाको मृत्यु


टोपलाल अर्याल
खनदह, अर्घाखाँची । अर्घाखाँचीकाे मालारानी गाउँपालिका- ३ साबडाँडाकी ५७ वर्षीया धनकला खनालको डाक्टरको लापर्बाहीका कारण मृत्यु भएको छ । उनी सामान्य ज्वरो आएपछि असार ८ गते मालारानी जनस्वास्थ्य सेवा प्राली खनदहमा भर्ना भएकी थिइन् ।
त्यहाँ उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि शनिवार जनस्वास्थ्य प्रालिले गुल्मी जिल्ला अस्पताल तम्घास रेफर गरेको थियो । तर धनकलाको बाटोमै ज्यान गएको छोरा गोविन्द खनालले बताए ।
सामान्य औषधी र सलाइनको भरमा आमालाई चार दिनसम्म प्रालीले भर्ना गरेर राखेको उनले बताए । अक्सिजन र सामान्य सुविधा बिना नै प्रालिले बिरामीलाई भर्ना गरेर राखिरहेका कारण बिरामीको ज्यान गएको धनकलाका देवर मणी खनालले बताए ।
आफुहरुले पटक-पटक अन्यत्र लैजान खोजे पनि डाक्टरले दिएनन उनले भने, ‘शनिबार बिरामी सिकिस्त भएपछि रेफर गरे ।’ डाक्टरले रोग समेत पत्ता नलगाएर कहिले जण्डिस कहिले टाइफाइड भएको भन्दै रोकेर राखेको खनालले अाराेप लगाए ।
यस प्रालिमा एमबिबिएस डाक्टर शारदानन्द चौधरीले बिरामी हेर्ने गरेका छन् । उनले अरु बेलापनि त्यस्ता लापर्बाही गर्ने गरेको धनकलाका जेठाजु ईश्वरी प्रसाद खनालले बताए । डाक्टरकै जिद्धीका कारण आफुहरुले समयमै बिरामीलाई अन्यत्र लैजान नपाएको उनले गुनासो गरे । उनले मृकका परिवारलाई उचित क्षेतिपुर्ति र डाक्टरलाई कारर्बाही गर्न माग गरेका छन् ।
खन इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रञ्जन कुमार स्वाँरले जनस्वास्थ्य सेवा प्राली र पीडित पक्षका आफन्तबीच सहमती भैसकेको बताए । प्रहरी निरीक्षक स्वाँरले डाक्टरको कागजपत्र आफुले लिएर अनुसन्धान गरिरहेको  जानकारी दिए ।
प्रालिका व्यावस्थापक ध्रुब खनालले डाक्टरको प्रयासले नसकेपछि अन्तिममा रेफर गर्दा बिरामीको बाटोमा नै मृत्यु भएकोमा आफु दु:खी भएको प्रतिक्रिया दिए ।