अर्घाखाँचीमा सबै दलको घरदैलो र चुनावी सभा पूरा

राष्ट्रिय जनमोर्चाका मेयर उम्मेद्वार कविराम खनाल भूमिकास्थानमा ।

वीरेन्द्र केसी कान्तिपुर
सन्धिखर्क, अर्घाखाँची । स्थानीय तह चुनावका लागि मनोनयन दर्तासँगै उम्मेदवारहरू नतिजा आफ्नो पक्षमा पार्ने कसरतमा जुटेका छन् । कांग्रेस, एमाले र माओवादी केन्द्रलगायत सबैजसो दलले घरदैलो र चुनावी सभा पूरा गरेका छन् । 
एमालेले एउटै गाउँमा दुई पटकसम्म घरदैलो गरेको छ । तीन दलले उम्मेदवार छनोट गरी महिना दिनअघिदेखि नै मत माग्न थालेका थिए । कांग्रेस-माओवादी केन्द्रबीच ४ स्थानीय तहमा तालमेल भएपछि चुनावी चर्चा बदलिएको छ । कांग्रेस जिल्ला सभापति विष्णु मुस्कान र केन्द्रका इन्चार्ज चन्द्रबहादुर खड्काले दुई दलबीच प्रमुख पदमा तालमेल भएको विज्ञप्ति जारी गरे । सन्धिखर्क र शीतगंगा नगरपालिकामा मेयर उम्मेदवार कांग्रेस र उपमेयर केन्द्रले पाएको छ । भूमिकास्थान नगरमा मेयर केन्द्र र उपमेयरमा कांग्रेसलाई सघाउने गरी तालमेल भएको हो । 
मलारानी गाउँपालिका प्रमुखमा केन्द्र र उपप्रमुखमा कांग्रेस उम्मेदवारलाई सघाउने गरी तालमेल भएको छ । पाणिनी र छत्रदेव गाउँपालिकामा सबै दल एक्लाएक्लै भिड्ने भएका छन् । ४ स्थानीय तहमा एमाले एक्लै भिडदै छ । तीनै दलबीच छलफल चल्दा पद बाँडफाँडमा सहमति जुट्न सकेको थिएन । त्यसपछि कांग्रेस सभापति मुस्कान र एमाले अध्यक्ष चेतनारायण आचार्यबीच दुवै दल कसैसँग पनि चुनावी तालमेल नगर्ने लिखित सहमति भएको थियो । ‘उम्मेदवारको मनोनयन दर्तापछि उत्साह थपियो, एमाले अध्यक्ष आचार्यले भने, एमालेप्रति जनलहर बढदो छ । सबै ठाउँमा जित सुनिश्चित छ । चुनाव हुन्न कि भन्ने थियो । दर्तापछि ढुक्क भइयो ।
चुनाव जित्ने रणनीतिका लागि बैठक र घरदैलो गरिने उनले बताए । कुनै दलसँग तालमेल नगर्ने लिखित सहमति भएको थियो, उनले भने, प्रस्तावक कांग्रेस थियो । अब विश्वासको वातावरण तोडियो । अपवित्र गठबन्धनप्रति सबै सचेत छन् । तालमेलपछि कांग्रेस-माओवादीले अब संयुक्त चुनावी सभा र घरदैलो गर्ने भएका छन् । एमाले एक्लै चुनावी रणनीतिमा लागेको छ ।
पहिले मैले भूमिकास्थान नगरको मेयर पदमा उम्मेदवार भएर मतदाताको घरमा पुगेर भोट मागेको थिएँ, कांग्रेसका खडानन्द बेल्बासेले भने, माओवादीसँग तालमेल भएपछि पार्टीले मलाई उपमेयर र केन्द्रका रेशम थापालाई मेयर पदमा लड्नका लागि निर्णय गरेको छ । अब दुवै दलले एउटै मञ्चबाट भोट माग्छौं । मतदातालाई यसरी भोट हाल्नुहोस् भनेर सिकाउँदै हिँड्ने र चुनाव जित्ने रणनीतिमा रहेको उनले बताए । भूमिकास्थानमा एमाले र राष्ट्रिय जनमोर्चाका उम्मेदवारसँग गठबन्धन भिड्नुपर्ने देखिन्छ । तीन नगर र तीन गाउँपालिकामा प्रतिस्पर्धी दलका उम्मेदवार घरदैलो, भेटघाट र चुनावी कार्यक्रम सम्पन्न गरी चुनाव जित्ने अन्तिम रणनीतिमा लागेका छन् । 
सन्धिखर्क नगरमा मेयरमा कांग्रेसबाट कमलप्रसाद भुसाल र केन्द्रबाट मेयरमा ठाकुर विक भोट माग्दै घरदैलो गरिसकेका छन् । तालमेल हुनुअघि केन्द्रबाट उम्मेदवार म हुँ, मलाई भोट दिएर मेयरमा जिताउनुहोला भन्दै मतदातासित भोट मागेको थिएँ, विकले भने, कांग्रेससँग तालमेल भयो । मेयरमा भुसाल र उपमेयरमा मलाई भोट हाल्नुहोला भन्दै फेरि मतदाताको घरमा पुगेर भोट माग्न जाने तयारीमा छौं । दुई दल एक भएर भोट माग्न जाने उनले बताए । जिल्लामा सबै एक्लाएक्लै चुनावमा भिड्ने भन्ने एमालेसँग सहमति भएपछि पार्टी केन्द्रले तालमेल गरेर निर्देशन पठाएको कांग्रेस सभापति मुस्कानले बताए । कांग्रेसका उम्मेदवारलाई मात्र भोट मागेका थियांै, उनले भने, अब फेरि तालमेल भयो भनेर सबै स्थानीय तहमा दुवै दलको संयुक्त सभा, भेटघाट, घरदैलो, मतदाता शिक्षा अभियान र नमुना मतदानका कार्यक्रम सुरु गर्छौं । मतदातासँग पुगेर दुवै दलका उम्मेदवारलाई जिताउन अपिल गर्ने उनले बताए । उम्मेदवारले चुनाव कसरी जित्न सकिन्छ भन्ने जोड घटाउमा लागेका छन् । मतदातासँग भेटघाट, छलफल गर्ने तयारीमा छु, एमालेबाट सन्धिखर्क नगर मेयरका उम्मेदवार कृष्णप्रसाद श्रेष्ठले भने, मप्रति मतदाताको जनलहर बढेको छ । मतदाता भोट दिएर जिताउन आतुर छन् । एमालेको नीति, एजेन्डाप्रति आकर्षण बढेकाले उत्साह थपिँदै गएको उनले बताए ।
                                           राष्ट्रिय जनमोर्चाका मेयर उम्मेद्वार कविराम खनाल भूमिकास्थानमा