अर्घाखाँचीमा निर्वाचनका लागि मौन अवधि सुरु, सामाजिक संजाल वा कुनै माध्यमबाट प्रचार गर्न नपाइने

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । स्थानीय तह निर्वाचन २०७४ अन्तर्गत दोस्रो चरणमा यही असार १४ गते अर्घाखाँची जिल्लामा हुने निर्वाचनका लागि आईताबार राति १२ बजेपछि मौन अवधि सुरु भएको छ ।
स्थानीय तह निर्वाचन निर्देशिका, २०७३ मा मौन अवधिमा प्रसारप्रचार गर्न निषेध गरिएको छ । मतदान हुने दिनभन्दा ४८ घन्टाअघिदेखि मतदानको काम पूरा नभएसम्मको अवधिलाई मौन अवधिका रुपमा लिइएको छ ।
मौन अवधि सुरु भएपछि मतदानको काम सम्पन्न नभएसम्म निर्वाचन हुने पदका लागि निर्धारित क्षेत्रभित्र कुनै पनि उम्मेदवारको पक्ष वा विपक्षमा मत लिने वा दिने उद्देश्यले किसिमको प्रचार गर्न नहुने निर्देशिकामा उल्लेख छ ।
निर्वाचनको मौन अवधिमा आफ्ना वेबसाइट तथा फेसबुक र ट्विटरलगायत कुनै पनि सामाजिक सञ्जाल वा अन्य कुनै माध्यमबाट समेत कसैले पनि निर्वाचनको प्रचारप्रसार गर्न नहुने जनाउँदै निर्वाचन आयोगले त्यस्ता प्रचारप्रसारका क्रियाकलाप नगर्न र मौन अवधिको पूर्ण पालना गर्न सरोकार भएका सबै पक्षसँग आग्रह गरेको छ ।
मौन अवधि पालना नगरी निर्वाचन आचारसंहिता विपरीत कुनै पनि किसिमले निर्वाचनको प्रचारप्रसार गरिएको पाइएमा त्यस्ता दल, संस्था, उम्मेदवार र व्यक्तिमाथि हदैसम्मको कारबाही हुने आयोगले जनाएको छ ।