आज अर्घाखाँचीबासीले २० बर्ष पछि स्थानीय चुनावमा मतदान गर्दै, अर्घाखाँचीमा ७५ प्रतिशत सम्म मत खस्ने अनुमान

मालारानी गाउँपालिका ९ गोखुङा केन्द्रमा । 

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । आज अर्घाखाँची जिल्लामा २० बर्ष पछि स्थानीय तहको चुनावमा मतदाताहरू मत हाल्दै छन् । 
मतदानका लागि बिहान ७ बजेदेखि अपराहन ५ बजेसम्मको समय तोकिएको छ । उक्त अवधिमा मतदान केन्द्रमा प्रवेश गरेकाले मात्रै मतदान गर्न पाउने छ । 
जिल्ला निर्वाचन कार्यालयले अर्घाखाँची जिल्लामा मौसमले साथ दिएमा ७५ प्रतिशत सम्म मत खस्ने अनुमान गरेको छ । 
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले वर्षा भएमा विद्यालयका कोठाहरू प्रयोग गरी मतदान गर्ने वातावरण बनाउन निर्देशन दिएको छ  । जिल्लाभर मतदान केन्द्रभित्र मोबाइल, क्यामेरा लैजान निषेध गरिएको छ । उता अर्घाखाँची जिल्लाभर सुरक्षा व्यवस्था कडा पारीएको छ । 
मत खसाल्न निर्वाचन आयोगले मतदाता परिचयपत्र अनिवार्य गरेको छ । मतदान केन्द्रहरूबाट परिचयपत्र वितरण गरिएको छ । कारणवश: कुनै मतदाताले परिचयपत्र प्राप्त गर्न नसकेमा निजको मताधिकार सुनिश्चित गरिएको गरिएको छ । मतदाता नामावलीमा नाम भएका तर मतदाता परिचयत्र नभएका व्यक्तिले पुरानो मतदाता परिचयपत्र, नागरिकता, राहदानी, सवारी चालक अनुमतिपत्र, जग्गाधनी पुर्जा वा सरकारी निकायबाट फोटोसहित जारी भएको अन्य परिचयपत्रसमेतका आधारमा समेत मतदान गर्न पाउने आयोगले जनाएको छ । यस्तो सुविधा पहिलो चरणको निर्वाचनमा पनि दिइएको थियो । 
अर्घाखाँची जिल्लामा १ लाख २६ हजार ६ सय ९९ जना मतदाता रहेका छन । सन्धिखर्क नगरपालिकामा २४ हजार ६ सय ४२ मध्ये ११ हजार ५ सय ४५ पुरूष र १३ हजार ९७ महिला रहेका छन् ।
सितगंगा नगरपालिकामा १२ हजार ४ सय १४ पुरूष, १२ हजार ७ सय ८७ महिला, भुमिकाथानमा ९ हजार ८ सय ८४ पुरूष र ११ हजार २ सय ३२ महिला मतदाता छन् ।
पाणिनी गाउँपालिकामा ८ हजार ७ सय ६५ पुरूष, ९ हजार ५ सय ४३ महिला, मालारानिमा ८ हजार ८ सय ५५ पुरूष, ९ हजार ८ सय ३२ महिला मतदाता छन् ।
छत्रदेव गाउँपालिकामा ८ हजार ८ सय ३० पुरूष र ९ हजार ९ सय ३० महिला रहेका छन् ।
जिल्लाभरमा पुरुषको तुलनामा ५ हजार ७ सय ११ जना महिला मतदाता बढी छन् । अर्घाखाँची जिल्लामा ३ सय ३२ पदका लागि ११ सय ३५ जना उम्मेदवारहरू चुनावी मैदानमा छन ।
अर्घाखाँचीमा ९३ वटा मतदानस्थल निर्धारण गरिएको छ । जिल्लाको तीनवटा नगरपालिका र तीनवटा गाउँपालिका गरी ६ वटा स्थानीय तहमा ९३ मतदानस्थल निर्धारण गरिएको छ । जस अनुसार सन्धिखर्क नगरपालिकामा १५ स्थल, शितगंगा नगरपालिकामा २४, भूमिकास्थान नगरपालिकामा १७, पाणिनी गाउपालिकामा १४, छत्रदेव गाउपालिकामा ११ तथा मालारानी गाउपालिकामा १२ स्थल कायम भएका छन । 
आज हुँदै गरेको स्थानिय निर्वाचनको अर्घाखाँचीमा मतपत्र यस्तो हुनेछ ।