अमेरिका र रुसबीच कूटनीतिक तनाव बल्झने, ३० जना अमेरिकी कूटनीतिज्ञलाई निश्कासन गर्ने तयारी

अमेरिका र रुसबीच कूटनीतिक तनाव बल्झने देखिएको छ ।
रुसले अमेरिकी नाकाबन्दीको बदलामा करिब ३० जना अमेरिकी कूटनीतिज्ञलाई निश्कासन गर्ने तयारी गरेपछि यस्तो स्थिति देखिएको हो ।
रुसी अधिकारीहरुकाअनुसार कूटनीतिज्ञ निश्कासनसँगै उनीहरुको सम्पत्ति जफत गरिनेछ ।
रुसी विदेश मन्त्रालयको स्रोतलाई उद्धृत गर्दै रुसी समाचार दैनिक ‘इज्भेस्टिया’ले यो समाचार सार्वजनिक गरेको बीबीसीले जनाएको छ ।
गत डिसेम्बरमा ओबामा प्रशासनले ३५ जना रुसी कूटनीतिज्ञलाई निश्कासन गरेको थियो । अमेरिकी चुनावमा रुसी हस्तक्षेपको आरोप लागेपछि यो कदम चालिएको थियो ।
यसपछि रुसमाथि अमेरिकाले विभिन्न नाकाबन्दी लगाएको छ । रुसले भने आरोप अस्वीकार गर्दै आएको छ । तर, अमेरिकामा यसबारे अनुसन्धान जारी छ ।
जुलाई ७ मा जर्मनीमा सम्पन्न जी २० सम्मेलनकाक्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता भएको थियो । एजेन्सी