अर्घाखाँचीमा फोटोसहितको मतदाता नामावलीमा नाम लेखाउनेको भीड

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गर्न सुरु गरेपछी अर्घाखाँची जिल्लाको सन्धिखर्कमा  फोटोसहितको मतदाता नामावलीमा नाम लेखाउनेको भीड लागेको छ । यसअघि मतदाता नामावलीमा छुट भई स्थानीय तहको निर्वाचनमा मतदान गर्न नपाएकाहरू नाम लेखाउन ओइरिएका हुन् । आयोगले छुट मतदाताहरूलाई फोटोसहितको नामावली दर्ताका लागि साउन १ देखि १५ गतेसम्म समय दिएको छ । 
आयोगले जिल्ला निर्वाचन कार्यालयमा पुगेर नाम दर्ता गर्न आग्रह गरेको छ । पहिलो दिन आइतबार नामावली भर्नेको सन्धिखर्कमा भीड लागेको थियो । 
जिल्ला निर्वाचन कार्यालयमा साउन १ गतेबाट शुरु भएको छुट मतदाता नामावली दर्तामा हालसम्म ३०८ जनाले दर्ता गराइसकेका छन् । जसमा महिला ११८ तथा पुरुष १९० जना रहेका छन । त्यसै गरी साबिकको ठेगाना सार्न हालसम्म ३८ जनाले निबेदन दिएका छन भने त्रुटी सच्चाउनका लागि ५ जनाले निबेदन दिएका छन । साउन १५ गतेसम्म संचालन हुने यस दर्ता कार्यक्रममा ठेगाना सार्ने, त्रुटी सच्चाउने तथा दोहोरो नाम हटाउने लगायतका अद्याबधिक कार्य समेत संचालन भइरहेको छ । बाहिरी जिल्लामा रहेका मतदाताले आफनै जिल्लामा आएमा मात्र दर्ता गर्न मिल्ने तथा जिल्ला निर्वाचन कार्यालयमा मात्र दर्ता हुने व्यबस्था रहेको छ । मतदाताले नाम दर्ता गर्नको लागि सक्कल नागरिकता तथा त्यसको प्रतिलिपि, तथा ठेगाना सार्नको लागि मतदाता परिचयपत्रको प्रतिलिपि तथा सार्ने ठाउको प्रमाण जनिने प्रमाणपत्रको प्रतिलिपि पेश गर्नु पर्ने व्यबस्था रहेको छ ।
यस्तै पहिलो दिन  ९४ जनाले नाम दर्ता र १४ जनाले ठेगाना परिबर्तन गराएको निर्वाचन कार्यालय अर्घाखाँचीले जनाएको छ । यस पटक अर्घाखाँची जिल्लामा झण्डै ६ हजार संख्या थपिने अनुमान गरिएको छ ।
स्थानीय तहको निर्वाचनपछि आयोगले प्रदेश र संघको निर्वाचन तयारी थालेको छ । त्यसका लागि मतदाता नामावली अद्यावधिक गर्न लागिएको हो । नामावली अद्यावधिकले स्थानीय तहको निर्वाचन अघि छुटेका मतदाताहरूलाई नाम दर्ता गर्ने अवसर दिएको छ ।
 १८ वर्ष उमेर पुगिसकेका व्यक्तिले फोटोसहितको नामावली दर्ता पाउने छन् ।  वैदेशिक रोजगारीमा गएका युवाहरूले नाम दर्ता गर्न छुटाएका थिए । घर फर्किएकाहरूले नाम दर्ता गरिरहेका छन् ।
अर्घाखाँची जिल्लामा १ लाख २६ हजार ६ सय ९९ जना मतदाता रहेका छन । सन्धिखर्क नगरपालिकामा २४ हजार ६ सय ४२ मध्ये ११ हजार ५ सय ४५ पुरूष र १३ हजार ९७ महिला रहेका छन् ।