अर्घाखाँचीमा भोटर लिस्टमा नाम नभएपछि उम्मेदवार बन्न नपाएकाले मतदाता नामावलीमा नाम दर्ता गरें


वीरेन्द्र केसी कान्तिपुर  
सन्धिखर्क, अर्घाखाँची  । अर्घाखाँची जिल्लाको धातीवाङका ३५ वर्षीय चन्द्रबहादुर थापालाई स्थानीय तहको चुनावमा उम्मेदवार बन्ने धोको थियो । 
तर, फोटोसहितको मतदाता नामावलीमा नामै छुटेपछि उनी पछुताएका छन् । २०६४ को संविधानसभाको चुनावमा उनले मतदान गरेका थिए । दोस्रो निर्वाचनमा मतदानमा सहभागी हुन पाएनन् । गत असार १४ को स्थानीय चुनावमा उनी उठ्ने तयारीमा थिए । वडा सदस्य भए पनि चुनाव लड्ने तयारी गरेको थिएँ, मेरो त नामै रहेनछ, उनले भने । नाम छुट्नु आफ्नै असावधानी भएको उनले बताए । जनप्रतिनिधि भएर जनताको सेवा गर्ने मौका मिलेन, उनले भने, भोटर लिस्टमा नाम नभएपछि उम्मेदवार बन्न पाइँदो रहेनछ । गाउँमा किन उम्मेदवार नबनेको भनेर धेरैले प्रश्न गर्दा मलाई साह्रै नरमाइलो लाग्यो । एउटा भोटको पनि महत्त्व हुने आफूले बुझेको उनले बताए । 
मेरो उमेरका सबैले भोट दिए । बेलैमा ख्याल नगर्दा पछुताउनुबाहेक केही उपाय लागेन, उनले भने । नाम दर्ता गर्न लागेको लाइनमा थापा जस्तै युवा उमेरका धेरै जना देखिए । छिटपुट मात्रै वृद्धवृद्धा थिए । महिला धेरै छन् । 
निर्वाचन आयोगले छुट मतदाताहरूलाई फोटोसहितको नामावली दर्ताका लागि साउन १ देखि १५ गतेसम्मका लागि समय दिएको छ । मतदाता नामावली अद्यावधिक गर्न थालेपछि मतदाता नामावलीमा नाम लेखाउनेको जिल्ला निर्वाचन कार्यालयमा भीड लागेको छ । 
मताधिकारको प्रयोग गर्न नाम दर्ता गर्न आएको हुँ, सोमबार निर्वाचन कार्यालयमा भेटिएका थापाले भने, स्थानीय चुनावमा भोट हाल्ने र उम्मेदवार बन्ने अवसर छुट्यो । अब आउँदो प्रदेश र केन्द्रीय चुनावमा भोट दिन नाम दर्ता गरें । उनलाई जस्तै सन्धिखर्ककी सीमा परियारलाई पनि उस्तै पछुतो छ । पार्टीका नेताले उम्मेदवार बन्न आग्रह गरेका थिए, उनले भनिन्, नाम नभएकै कारण दलित महिला सदस्यमा उम्मेदवारी दिन पाइनँ । नेताले उम्मेदवार बन्न भन्दा खुसी लागेको थियो । तर, नाम नहुँदा खुसी हरायो, उनले भनिन् । अबको चुनावमा भोट हाल्ने अधिकारबाट वञ्चित नहुन नाम दर्ता गरेको उनले बताइन् । मतदाता नामावलीमा नाम भएको भए सायद चुनाव जितेर जनप्रतिनिधि भइन्थ्यो होला, उनले भनिन्, २० वर्षपछि स्थानीय चुनावलाई उपयोग गरेर समाजसेवा गर्ने त गुम्यो । अब फेरि स्थानीय चुनावमा उम्मेदवार बन्ने मेरो धोकोलाई पूरा गर्छु । संविधानमा धेरै अधिकार छ । नगर र गाउँपालिका स्थानीय सरकार नै हुन् । सिंहदरबारको अधिकार गाउँ-गाउँमा आएको भन्ने सुनेको उनले बताइन् । केही समयपछि प्रदेशको चुनाव हुन्छ । उम्मेदवार भोट माग्न घरमा आउँदा छिमेकीले त्यस्तो भोटर लिस्टमा नाम छैन भन्दा मन खिन्न भएको थियो, खनकी सन्तोषी परियारले भनिन्, अहिले भोट दिन नपाए पनि प्रदेश चुनावमा भोट दिने अब पक्का भयो । नाम दर्ता भयो । आफ्नो अधिकार प्रयोग गर्छु । प्रदेश चुनावमा जितेका नेताले गाउँको विकास गर्लान्, सुख पाइएला भनेर भोट दिन आतुर रहेको उनले बताइन् । भोटर लिस्टमा नामै नहुँदा छिमेकमा एक्लो भइँदोरहेछ, उनले भनिन् । 
सन्धिखर्कका ५० वर्षीय कृषि परियारले अहिलेसम्म २ पटक मात्रै भोट दिए । स्थानीय चुनावमा भोट दिन उनले पाएनन् । धेरै उम्मेदवार घरमै आएर भोट मागे, तर मेरो लिस्टमा नामै रहेनछ, उनले भने, आउँदो चुनावमा मैले भोट दिन्छु । मेरो गाउँमा विकास गरिदेऊ भन्न पाइएला ।
छुटेका मतदातालाई आयोगले जिल्ला निर्वाचन कार्यालयमा गएर नाम दर्ता गराउन आग्रह गरेको छ । आइतबार देखि नै भीड लागेपछि टोली बनाएर नाम दर्ताको काम भइरहेको छ । सुरुकै दिनदेखि भीड छ, जिल्ला निर्वाचन अधिकारी महेश पाण्डेले भने, १८ वर्ष उमेर पुगेका व्यक्तिले फोटोसहितको नामावली दर्ता गर्न पाउनेछन् । १ लाख २६ हजार ६ सय ९९ मतदाता छन् । प्रदेश र संघको चुनावमा थपिनेछन् । 
यतिबेला कामको समय भएकाले सदरमुकाम आउन गाह्रो हुने भन्दै राजनीतिक दलले प्रमुख जिल्ला अधिकारी डिल्लीराज पोखरेल र निर्वाचन अधिकारी पाण्डेलाई नगर र गाउँपालिकामा नाम दर्ता गर्ने व्यवस्था मिलाइदिन डेलिकेसन गरेका थिए । तर, आयोगले असम्भव भएको बताएको कार्यालयले जनाएको छ । कर्मचारी अभाव र समय छोटो भएकाले छुटेका व्यक्ति सदरमुकाम नै धाउनुपर्ने बाध्यतामा छन् ।