खर्च गर्न नसक्दा अर्घाखाँचीमा २८ करोड ७३ लाख बजेट फ्रिज

Related image
चुत्राबेशी, सन्धिखर्क । फाइल तस्बिर  

प्रेम आचार्य 
 अर्घाखाँची ( अर्घाखाँचीडट्कम) ।   अर्घाखाँचीमा आर्थिक वर्ष २०७३/०७४ मा जिल्लाभर पुँजीगत र चालुबजेट गरी २८ करोड ७३ लाख ६२ हजार ४ सय ६ रुपैयाँ फिज्र भएको छ । जसमध्ये पुँजीगतमा ११ करोड ६५ लाख ७५ हजार २ सय ४९ र चालुबजेटमा, १७ करोड ७ लाख ८७ हजार १ सय ५७ रुपैयाँ फिज्र भएको कोष नियन्त्रक कमल पन्थीले जानकारी दिनुभयो ।
पुँजीगत बजेटमा सबै भन्दा बढी रकम फ्रिज गर्ने कार्यालयमा जिल्ला समन्वय  समितिको कार्यालय परेको छ । जिल्ला समन्वय समितिको कार्यालयले ४ करोड ४९ लाख १७ हजार  १ सय ७४ रुपैयाँ बराबरको रकम फ्रिज गरेको  छ । त्यस्तै सालझन्डी सन्धिखर्क ढोरपाटन योजनाको ४ करोड २४ लाख १३ हजार ६ सय १७ रुपैयाँ फ्रिज भएको छ ।
खानेपानी तथा सरसफाइ डिभिनको कार्यालयले १ करोड ५७ लाख ४६ हजार ९ सय ७५ रुपैयाँ फ्रिज भएको छ । सिचाइ कार्यालयको ५३ लाख ६ हजार ७ सय १२ रुपैयाँ, शिक्षा कार्यालयको ३६ लाख ७४ हजार रकम फ्रिज भएको छ । जिल्ला वन कार्यालयको ४ लाख ९६ हजार ५ सय ६ रुपैयाँ फ्रिज भएको छ ।
त्यस्तै जिल्ला पशु सेवा कार्यालयको २ लाख ७१ हजार ४९ रुपैयाँ, कृषि बिकास कार्यालयको २ लाख २३ हजार २ सय २३ रुपैयाँ पुजीगत बजेट खर्च गर्न नसक्दा फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालय अर्घाखाँचीले बताएको छ ।