भारतको १४ औं राष्ट्रपतिमा रामनाथ कोविन्द निर्वाचित

भारतको १४ औं राष्ट्रपतिमा बिहारका गर्भनर ७१ वर्षीय रामनाथ कोविन्द निर्वाचित भएका छन् । उनी सत्तारुढ भारतीय जनता पार्टीका दलित नेता हुन् । 
 गत सोमबार भएको मतदानमा झण्डै ९९ प्रतिशत मत खसेको थियो । बिहीबार बिहान एघार बजेबाट मतगणना सुरु भएको थियो भने पाँच बजे सकिएको थियो । कोविन्द झण्डै दुई तिहाई मत ल्याएर राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।
भारतीय जनता पार्टीको सदस्य राष्ट्रपतिमा निर्वाचित भएको यो पहिलोपटक हो । कोविन्दले सात लाख २० हजार ४४ मत ल्याएका थिए भने उनका प्रतिद्वन्द्वी विपक्षी गठबन्धनका उम्मेदवार मिसा कुमारले ३ लाख ६७ हजार १४ मत ल्याएका थिए । 
दलित समुदायको तर्फबाट कोविन्द दोस्रो राष्ट्रपति हुन् । यसअघि केआर नारायणनन भारतको पहिलो दलित राष्ट्रपति बनेका थिए । तर, यी दुईको बीच एउटा फरक छ– नारायणनन भारतीय कर्मचारी पृष्ठभूमिका थिए भने कोविन्द चाही लामो सामाजिक तथा राजनीतिक आन्दोलनका उत्पादन हुन् ।
 
कोविन्द सन् १९४५ को अक्टोबर १ मा कानपुर नजिकको एउटा गाउँमा जन्मेका हुन् । उनका पाँच दाजुभाई र दुई दीदी बहिनीमध्ये कोविन्द सबै भन्दा कान्छा हुन् ।
सन् १९४५ अक्टोबर १ मा कानपुर नजिकैको एउटा गाउँमा जन्म
सन् १९७० मा सरकारी जागिरको लागि छनौट भए तर उनले जागिर खाएनन्
सन् १९७४ मा सविता नाम गरेकी दिल्लीको एक युवतीसंग विवाह
सन् १९७५ मा जेपी आन्दोलनमा सहभागी
सन् १९७७ मा मोराजी देसाईको सहयोगीको रुपमा काम
१९७८ मा भारतको सर्वाेच्च अदालतको अधिकवक्ताको जिम्मेवारी
सन् १९८० मा केन्द्रिय सरकारले तर्फबाट सर्वाेच्च अदालतमा प्रतिनिधि  
सन् १९९१ मा भाजपाको तर्फबाट उत्तर प्रदेश विधान सभाको सदस्यमा उम्मेदवार, हार
१९९३ मा पनि निर्वाचनमा हार
१९९४ मा राज्यसभा सदस्यमा निर्वाचित
१९९८ मा भाजपाको जातीय सेलको अध्यक्षमा निर्वाचित
सन् २००२ मा संयुक्त राष्ट्रसंघमा भारतको प्रतिनिधित्व
सन् २००४ मा राज्यसभा सदस्यमा पुन निर्वाचित
सन् २०१० मा भाजपाको राष्ट्रिय प्रवक्ता
सन् २०१३ मा पार्टीको उत्तरप्रदेश कमिटीको महासचिव
सन् २०१४ मा पार्टीको महासचिव पदमा पदोन्ती
सन् २०१५ मा विहारको ३६ औ गर्भनरको रुपमा निर्वाचित
सन् २०१७ मा भारतको राष्ट्रपति पदमा निर्वाचित
 उनले पहिले कानपुरमा रहेको डिएफी कलेजमा कमर्स पढे र त्यसपछि कानुन पढ्न थाले । पढाईको क्रममा नै उनी भारतीय जनता पार्टी निकटको राष्ट्रिय स्वयं सेवक संघमा समेत आबद्ध भए ।
 
उनी सरकारी जागिर खोज्न दिल्ली आए र उनले सरकारी सेवामा नाम समेत निकाले तर उनी त्यो छोडेर दिल्लीको वार काउन्सिलमा अधिवक्ताको रुपमा जागिर खान सुरु गरे । उनको वकालत पेशाले उनलाई समाजवादी आन्दोलनका अगुवा मोराजी देसाईको समिपमा ल्यायो । सन् १९७४ मा दिल्लीको एक युवतीसँग विवाह गरे जसमा देसाई समेत सहभागी भएका थिए ।
भारतका संकटकालपछि जनता पार्टीको सरकार बनेपछि उनी देसाईको सहयोगी बने । केही समय अधिवक्ताको रुपमा काम गरेपछि उनले सन् १९९१ मा औपचारिक रुपमा भारतीय जनता पार्टीमा प्रवेश गरे । त्यसपछि भारतीय जनता पार्टीले कोविन्दलाई उत्तर प्रदेशको पार्टीको दलित नेताको रुपमा अगाडी बढायो । सन् १९९४ मा कोविन्द पहिलोपटक राज्यसभा सदस्य बने जसले उनलाई भाजपाको राष्ट्रिय नेताको छवी बनाउने बाटो खोलिदियो ।
सन् २००२ मा उनले भारतलाई प्रतिनिधित्व गदै संयुक्त राष्ट्रसंघमा सम्बोधन गरे । उनी सन् २०१० मा भारतीय जनता पार्टीको राष्ट्रिय प्रवक्ता भए तर मिडियासाग उनी एकदमै कम बोल्ने गर्दथे । उनले त्यही वर्ष उमा भारतीलाई पार्टीमा ल्याउनको लागि ठूलो भुमिका खेले ।
भारतीले अर्काे राजनितिक दल खोल्नको लागि भन्दै सन् २००३ मा भाजपा छोडेकी थिइन् ।  राष्ट्रिय नेताको छवी बनाइरहेकै समयमा सन् २०१३ को लोकसभा निर्वाचनको अगाडि उनलाई पार्टीको उत्तरप्रदेशको महासचिव बनाइयो । यो वास्तवमा उनको घटुवा थियो तर त्यसलाई उनले अन्यथा मानेनन र पार्टीले दिएको जिम्मेवमरी पूरा गरे ।
भारतमा मात्र होइन संसारभरी नै दलितको परिचय राजनीतिमा माथि जाने एक महत्वपूर्ण खुड्किलो हो । तर कोविन्दले कहिल्यै पनि यसलाई उपयोग गरेनन् र उनले कहिल्यै पनि आफूलाई पीडितको रुपमा लिएनन् । उनको निरन्तर काम गराई, लगन र मिहिनेतले नै उनलाई अहिलेको अवस्थासम्म ल्याएको छ ।
भारतको राष्ट्रपतिको पद संवैधानिक हो र कतिपय विषयहरुमा सरकारसँग टक्कर परेपनि त्यस्ता विषयमा मिडियाबाजी भने हुने गदैन । राष्ट्रपतिको एक मुख्य कर्तव्यको रुपमा संविधानको मूल्य र मान्यताको रक्षा गर्नु रहेको छ । संवैधानिक मूल्य र मान्यताप्रति कोविन्दको पूर्ण रुपमा प्रतिवद्धता रहेको पाइन्छ । उनले बिहारको गर्भनरको रुपमा पूर्ण रुपमा संवैधानिक मूल्य एवं मान्यतामा जोड दिएको विश्लेषकहरुको भनाई रहेको छ । कान्तिपुरमा समाचार छ ।