मुम्बईको उत्तरतर्फ भत्किएको पाँचतले भवनमा परी मृत्यु हुनेको संख्या १७

भारतको एक ठूलो सहर मुम्बईको उत्तरतर्फ मंगलबार भत्किएको एक पाँचतले भवनमा परी मृत्यु हुनेको संख्या १७ पुगेको छ ।
उद्वारकर्मीहरुले उद्वारको कार्य जारी नै राखेका छन् । उनीहरुले बुधबार बिहानसम्म भत्किएको भवनको भग्नावशेषबाट १७ व्यक्तिको शव निकालेको बताएका छन् ।
मुम्बईको विपद् व्यवस्थापनसम्बन्धी कार्यालयका प्रवक्ता तनाजी काम्बलेले भने- १७ जनाको शव निकालिएको छ र अरु २८ जनालाई जीवितै उद्वार गरी निकालिएको छ ।
भत्किएको घरको भग्नावशेषबाट निकालिएका २८ जनामध्ये अधिकांशको अवस्था गम्भीर छ । गम्भीर घाइते र अचेत अवस्थामा रहेका उनीहरुलाई उपचारको लागि अस्पताल भर्ना गरिएको छ ।
उक्त घटनामा ३० जनाभन्दा बढी अन्य व्यक्ति फसेको अनुमानका आधारमा मंगलबार बिहान सो दुर्घटना भएदेखि नै उद्वारकार्य तीव्र बनाइएको थियो ।
उनीहरूको उद्वारका लागि आवश्यक प्रयास जारी राखिएको प्रकोप व्यवस्थापन विभाग मुम्बईले बताउँदै आएको छ ।
मुम्बईको अग्नि नियन्त्रण कार्यायलका एक अधिकारी पि रहाङदेलकाअनुसार यस दुर्घटनाको उद्वारकार्य मंगलबारदेखि बुधबार बिहानसम्म निरन्तर रहेको र जीवितै उद्वारको आशमा उद्वारकर्मीहरु निकै खटेका थिए ।
भारतमा यसरी भवन भत्किएर हुने दुर्घटना पछिल्लो समय सामान्यजस्तै बन्दै गएको छ ।
भारतको भौतिक संरचना निर्माण विज्ञले भवन बनाउनेक्रममा भवन निर्माण नियमलाई पालना नगर्नुका साथै गुणस्तरीय सामग्रीको कम प्रयोगका कारण भवन भत्किने गरेको बताएका छन् ।
भारतको मुम्बई सहरमै सन् २०१३ र २०१५ मासमेत भवन भत्किएर ७० जनाभन्दा बढीको ज्यान गएको थियो ।
सरकारले यस्ता दुर्घटनाहरुको अनुसन्धान गरी कारबाही गर्न आदेश दिने गरेको भएपनि पुराना भवनहरुका कारण यहाँ बारम्बार यस्तो दुर्घटना हुने गरेको छ । रासस/सिन्ह्वा