अर्घाखाँचीडट्कम संवाददाता
बल्कोट, अर्घाखाँची । अर्घाखाँची जिल्लाको छत्रदेव गाँउपालिका स्थित बल्कोट प्राथमिक स्वास्थ्य केन्द्र बल्कोटका लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभागबाट एक एम्बुलेन्स प्राप्त भएको छ ।
बल्कोट, केरुंगा, छत्रगञ्व, चिदिका, पाली, वांग्लावाट दैनिक करिव १०० जना विरामी आउने गरेको स्वास्थ्य केन्द्रमा आकस्मिक, रेफरल तथा असक्त विरामीहरुका लागि एक एम्बुलेन्सको आवश्यकता रहेको थियो । एम्बुलेन्स प्राप्त गर्नकालागि निकै वर्ष पहिलेदेखिनै प्रयास गरिए पनि सो उपलब्ध हुन सकेको थिएन ।
निवर्तमान स्वास्थ्य मन्त्री गगन थापा, निवर्तमान स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङ, नेपाल चिकित्सक संघका केन्द्रीय अध्यक्ष डा मुक्तिराम श्रेष्ठज्यूको निरन्तर सहयोग सहकार्यता, स्वास्थ्य सेवा विभागका अधिकृत बल्कोटकै स्थानीय कृष्णराज पाण्डेको सक्रिय पहलमा स्थानीय समाज सेवी मित्रलाल पाण्डे, गुनाखर भुसाल, बल्कोट(अर्घाखाँची)-काठमाण्डौ सेवा समाज समेतको धेरै वर्षदेखिको पहलले सार्थकता पाउन सफल भएको हो ।
अर्घाखाँचीमा आवश्यकता अनुसार एम्बुलेन्स नभएको तथा जिल्ला सदरमुकामबाट गाँउगाँउ सम्म पुग्न समय लाग्ने गरेकाले विरामीको समयमै उपचार हुन नसकी मृत्यू समेत हुनसक्ने जोखिम रहेको थियो ।
जिल्लाको पूर्वी उत्तर क्षेत्र बल्कोटमा एम्बुलेन्स प्राप्त भएबाट बल्कोट, चिदिका, केरुंगा, छत्रगञ्ज लगाएतका रेफरल तथा आकस्मिक विरामीहरुलाई जिल्ला सदरमुकाम, पाल्पा, बुटवल तथा काठमाण्डौसम्म पुर्याउन सहज हुने भएको छ ।
बल्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा करिव २ महिना अघि एक मोटरसाईकल लगाएत विभिन्न स्वास्थ्य उपकरणहरु पनि प्राप्त भएको छ । दक्ष मेडिकल अधिकृत लगाएत स्वास्थ्यकर्मीहरुको टिम, सेवाभावको भावना, गुणस्तरीय प्रयोगशाला सेवा तथा गुणस्तरीय सेवा प्राप्तहुने हुनाले हाल विरामीहरुको चाप अत्याधिक रहेको र सरकारी निकायबाट सिमित मात्र औषधि आउने गर्दा निशुल्क औषधि पुर्याउन मुस्किल परेको छ । औषधिका लागि जिल्ला तथा केन्द्रीय निकायमा ताकेता गरिरहेपनि आपूर्ति नभएकाले विरामीहरुले औषधि किन्नु पर्ने बाध्यता देखिएको छ ।