गोपाल प्रसाद भट्टराई
सन्धिखर्क, अर्घाखाँची भाद्र-४ । ने.क.पा.मसालका महामन्त्री मोहन बिक्रम सिंहले समाजवादी ब्यबस्था ल्याउनको निम्ती किसानको एकताबद्ध लडाइ नै सफल आधार भएको धारणा ब्यक्त गर्नुभएको छ ।
नेपाली समाजमा ब्याप्त रहेको गरिबि माथीको थिचोमिचो तथा शोषणको अन्त्यको निम्ती जनताको एकता हुनुपर्ने उहाँको धारणा रहेको छ । नेपालको कम्युनिष्ट आन्दोलनका एक अग्रज नेताको रुपमा चिनिनुभएका महामन्त्री सिंहले यस्तो भनाई कुनै औपचारीक कार्यक्रममा नभइ एक फिल्मी कथामा लेख्नुभएको हो । उहाँले मुठ्ठीभर पूजिवादीहरुले आम किसानहरुमाथी गर्दै आएको दमन र शोषणको अन्त्य गर्न जनता सचेत हुन जरुरी रहेको भन्दै सत्यको सधै जित हुने बताउनुभएको छ ।
२०१० साल फागुनमा नेपालका कम्युनिष्टहरुको अगुवाइमा सुरुभइ फागुन २४ गते बिजयी हाँसिल गरेको किसान आन्दोलन र बर्गसंघर्षलाई समेटेर महामन्त्री सिंहले लेख्नुभएको फागुन २४ फिल्ममा यस्तो कुरा बताइएको छ ।
महामन्त्री मोहन बिक्रम सिंहद्धारा लिखित र रक्तिम साँस्कृतिक अभियानका कलाकार हेम आश्रमको निर्देशनमा तयार पारिएको चलचित्र फागुन २४ लाई राष्टिय जनमोर्चा अर्घाखाँचीको ब्यबस्थापनमा हिजो सन्धिखर्कमा प्रदर्शन गरिएको थियो । चलचित्र प्रर्दशनमा झन्डै पाँच सय जनाले अवलोकन गरेको राष्टिय जनमोर्चा अर्घाखाँचीले जनाएको छ ।