नबिन के.सी
मालारानी, अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाको प्रथम गाउँसभा सुरु भए पनि ५ नम्वर वार्डमा आएको विवादका कारण गाउँसभा स्थगित भएको छ । वडा अध्यक्ष र सदस्यहरुबीच योजना छनौटमा विवाद हुँदा गाउँपरिषद् सम्पन्न हुन सकेन ।
५ नम्वर वडाका वडा अध्यक्ष शोभाखर भुसाल र चार जना वडा सदस्यहरुले छुट्टा छुट्टै योजना गाउँपालिकामा पेश गरेका छन् । गाउँ पालिकामा दुई वटा पक्षबाट योजनाहरु पेश भएको हुँदा दुवै पक्षलाई मिलेर योजना ल्याउन आग्रह गर्दै केही समयका लागी बजेट बिनियोजनको पाटोलाई स्थगित गरिएको गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्यले बताए ।
५ नम्वरका वडा अध्यक्ष शोभाखर भुसालले योजनाहरु प्रस्ताव गर्दा सदस्यहरुसंग कुरा नमिलेको बताए । उनले भने ‘सदस्य साथीहरुसंग प्रस्तावित योजनाका बारेमा छलफल गर्दा सहमति हुन सकेन सहमति नहुँदा दलहरु बसेर छलफल गर्ने भन्ने कुराकानी भएको थियो । म व्यक्तिगत कामले काठमाण्डौ जानु पर्ने थियो । २२ गते सभा गर्ने कुरा थियो । पछि गाउँपालिका अध्यक्षले ६ गते सभा गर्नु पर्यो भन्नु भयो दलका साथीहरुसंग छलफल गर्ने समय भएन ६ गते सम्भव हुँदैन भन्दा तपाईका योजना ल्याउनु भनेर भन्नु भयो । मैले वडाका प्रस्तावीत योजना पेश गरेको छु ।’
उता वडा सदस्य डालबहादुर चौहानले वडा अध्यक्षले एकलौटी रुपमा टोलगत भन्दा पनि व्यक्तिगत योजनाहरु अगाडि बढाएको हुँदा विवाद भएको बताए । उनले भने ‘वडा अध्यक्षले एकलौटि ढङ्गले योजना ल्याएपछि त्यसको बिरोध गर्दै हामी बहुमत सदस्यको निर्णयले प्रस्तावित योजनाहरु गाउँपालिकामा पेश गरेका छौ ।’
मालारानी गाउँपालिका वडा नम्वर ५ मा एमाआवादी र कांग्रेस गठबन्धनबाट वडा अध्यक्ष जिते पनि ४ जना बहुमत सदस्य एमालेले जितेको छ । गाउँपालिकाका ९ वटा वडामा ८० लाख बजेट दिने निर्णय समेत भएको छ । यसै बजेट भित्रका योजना छनौटमा सहमति हुन नसकेको हो । जसले गर्दा गाउँसभा नै स्थगित हुन पुगेको छ ।