अर्घाखाँचीडट्कम संवाददाता
काठमाडौं ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा प्रतिनिधिसभाका लागि एउटा मात्र निर्वाचन क्षेत्र निर्धारण गरिएको छ । आज निर्वाचन क्षेत्र निर्धारण आयोगले सरकारलाई बुझाएको आफ्नो प्रतिवेदनमा अब अर्घाखाँची जिल्लामा प्रतिनिधिसभाका लागि एउटा मात्र निर्वाचन क्षेत्र हुने भएको हो । यस अघि प्रतिनिधिसभामा २ वटा निर्वाचन क्षेत्र थिए ।
यस्तै अर्घाखाँची जिल्लामा प्रदेशसभाका लागि दुई वटा निर्वाचन क्षेत्र निर्धारण गरिएको छ । जस अनुसार प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र विवरण यसरी निर्धारण गरिएको छ:-
अर्घाखाँची प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ मा:-
क) सन्धिखर्क नगरपालिकाका ४,५,८,९,१०,११,१२ नं वार्ड
ख) भूमिकास्थान नगरपालिकाका १,२,३,४ नं वार्ड
ग) मालारानी गाउँपालिका
घ) छत्रदेब गाउँपालिका
अर्घाखाँची प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ मा:-
क) सन्धिखर्क नगरपालिकाका १,२,३,६,७ नं वार्ड
ख) भूमिकास्थान नगरपालिकाका ५,६,७,८,९,१०, नं वार्ड
घ) शीतगंगा नगरपालिका
ग) पाणिनी गाउँपालिका
उता प्रदेश नम्बर ५ मा प्रतिनिधिसभाका लागि २६ निर्वाचन क्षेत्र निर्धारण गरिएको छ ।
हालै सम्पन्न स्थानीय तहको निर्वाचनामा अर्घाखाँची जिल्लामा १ लाख २६ हजार ६ सय ९९ जना मतदाता रहेका थिए । भने प्रदेशसभा र प्रतिनिधि सभा संसद्को चुनावको लागि सुरु गरेको मतदाता नामावली संकलनमा अर्घाखाँची जिल्लामा ११ हजार ९ सय ६७ जना नयाँ मतदाता संख्या थपिएका छन् ।
साथै सरकारले प्रतिनिधिसभा र प्रदेशसभा चुनाव आगामी मंसिर १० र २१ गते दुई चरणमा गर्ने भएको छ ।