भारतको राजधानी नयाँदिल्लीस्थित रेड लाइट एरिया जीबी रोडमा देहव्यापार अखडा पूर्ण रुपमा बन्द गर्ने अभियान सुरु गरेको दिल्ली महिला आयोगले त्यस्ता अखडा संचालनमा केन्द्रीय मन्त्रीको समेत संलग्नता रहेको दाबी गरेको छ ।
दिल्ली महिला आयोगकी अध्यक्ष स्वाति मालिवालले देहव्यापार अखडा संचालनमा एक केन्द्रीय मन्त्रीको समेत संलग्नता देखिएको दाबी गरेकी हुन् । उनले ती मन्त्रीको नाम भने खुलाएकी छैनन् । चाँडै नै आफूले ती मन्त्रीको नाम सार्वजनिक गर्ने उनले बताइन् ।
तिहाड जेलमा आयोजित कला उत्सवमा विशेष अतिथिका रुपमा पुगेकी उनले भनिन्, संसद भवनबाट ३ किलोमिटरको दुरीमा यस्तो घृणित काम भइरहँदा पनि सरकार मुकदर्शक भएर बसिरहेको छ ।
महिला आयोगका तर्फबाट जीबी रोडमा बेलाबेलामा छापा मार्ने काम भएको उल्लेख गर्दै अध्यक्ष स्वातिले हालैमात्र आफूहरुले ६ वर्षदेखि कोठीमा बेचिएकी एक महिलाको उद्धार गरेको जानकारी दिइन् ।
आफूहरुलाई उच्च तहबाट बारम्बार धम्की आएको पनि उनले खुलासा गरिन् । केन्द्र सरकारलाई निशाना बनाउँदै उनले भनिन्, म जेल मै जानु परे पनि यस्ता घृणित कार्य रोक्न कुनै कसर बाँकी राख्दिनँ ।
उनले महिला अयोगकी पूर्व अध्यक्ष बरखा सिंहलाई पनि निशाना बनाइन् । उनले भनिन्, ८ वर्षसम्म आयोगलाई नेतृत्व गर्दा तपाईले कुनै दिन जीबी रोडका महिलाको आवाज सुन्नु भयो ?
उनले तिहाड जेलमा रहेका महिला कैदीबन्दीसँग अनुभव साट्न तथा उनीहरुको समस्या बुझ्न आफू जेलमा बस्न चाहेको पनि बताइन् । उनले जेल प्रशासनलाई आफू र आफ्नो टिम एक सातासम्म जेल मै बस्न चाहेको सुनाइन् । उनले भनिन्, हामी जेलमा रहेका महिलाका समस्यालाई नजिकबाट जान्न र बुझ्न चाहन्छौं । (एजेन्सी)