अर्घाखाँचीमा बाघ मार्न सेना र प्रहरी परिचालन, पहिलो दिन खाचिकोट, ढिकुरा, कुर लगायतका क्षेत्रमा बाघ, चितुवा फेला परेन (तस्बिर सहित)

प्रेम खड्का
भालुखोला , अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क स्ठित खाचिकोट, ढिकुरा लगायतका क्षेत्रमा बाघ मार्नका लागि बिशेष सेना र प्रहरी परिचालन गरिएको छ ।
सेना र प्रहरी परिचालन गरेको पहिलो दिन नरभक्षी चितुवा, बाघ फेला परेन। पहिलो दिन सन्धिखर्कको कुर बेल्दारा देखि खाचिकोट, ढिकुरा सम्मको सबै जंगलमा खोजी गरिएपनि बाघ फेला पर्न सकिएन ।
नरभक्षी चितुवा, बाघ मार्नका लागि हरियार सहित सेना, सादा पोशाक सहितका प्रहरी, वन कार्यालय, स्थानियबासी सहित ३०० जना परिचालन भएका थिए । यस पटक प्रहरी प्रशासनले बढी सकृयता देखाएको छ ।
बाघ आतंक बढ्दै गएपछि खाचिकोट, ढिकुरा, नुवाकोट, सन्धिखर्क, किमडाँडा लगायतका स्थानिय बासिन्दा त्रसित भएका छन् ।
मंगलबार साँझ सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ प्रगतीनगर ( साविक खाचिकोट – ६ भालुखोला बाजाबारी) का रमेश के.सी र निर्मला के.सीको वर्ष ४ को कान्छो छोरो मनिष केसीलाई बाघले खाएपछि  हिजो बसेको अापतकालिन सुरक्षा बैठकले बाघ मार्नका लागि प्रहरी परिचालन गर्ने निर्यण गरेको थियो । बाघ मार्नका लागि सदरमुकाम सन्धिखर्कको कुर, किमडाँडा, नुवाकोट, ढिकुरा र खाँचीकोट लगायतका क्षेत्रमा हतियारसहित सेना – प्रहरी परिचालित भएका हुन् ।
जिल्लामा गएको तीन वर्षभित्र १५ जना भन्दा बढि बालवालिकालाई चितुवाले आक्रमण गरेको छ । जसका कारण १० जनाको ज्यान गएको छ । जिल्लामा चितुवा, बाघ आक्रमण  र आतंक बढ्दै गएको लामो समय हुँदा समेत प्रहरी प्रशासनले चितुवा मार्नका लागि अहिलेसम्म महत्वपूर्ण भूमिका खेल्न नसकेको भन्दै स्थानीय बासिन्दा आक्रोशित भएका छन् । अर्घाखाँची नेपालको अन्य भेगमा भन्दा बढी बाघले आतङ्क मच्चाएको जिल्ला हो ।

अन्य समाचारहरु