अर्घाखाँचीडट्कम संवाददाता
भालुखोला, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । गत मंगलबार अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ प्रगतीनगर ( साविक खाचिकोट – ६ भालुखोला बाजाबारी) का रमेश के.सी र निर्मला के.सीका ४ वर्षिय कान्छो छोरो मनिष केसीलाई बाघले खाएपछि यहाँको सिंगो गाउँ शोकमा डुबेको छ ।
यस गाउँमा कसैको घरमा पनि अहिले सम्म राम्रोसँग चुलो बोलेको छैन् । मनिषकी आमा निर्मला बेला-बेला बेहोस् हुन्छिन् । यस अघि अस्पतालमा लगेर भर्ना समेत गरिएको थियो । जेठो छोरा मान बहादुर के.सीका साथै पति समेत गुमाएकी हजुर आमा खिमकला के.सीको अवस्था उस्तै छ । उनी बारम्बार जेठो छोरो, श्रीमान र फेरी नाती गुमाएको चिन्ताले बेहोस् नै हुने गर्छिन् । यहाँका छिमेकीले अहिले सम्म राम्ररी खाना पकाएर खाएका छैनन् । जतिबेला पनि उनी गोलु ( मनिष) गुमाएको पिडामा छन् ।
गाउँले चितुवाबाट आतंकित छन् । साँझ पर्नासाथ कतिबेला चितुवाले आक्रमण गर्ने भन्ने त्रासमा रहन्छन् गाउँले सधैं । गाउँ नजिक त्यति घना जंगल पनि छैन, तर चितुवा भने लुक्न सक्छ । साँझ पर्नासाथ गाउँलेले आ-आफ्नो घरमा शंख, मादल, थाल बजाउन थाल्छन् । साँझ नपर्दै ढोका लगाएर बस्नुपर्ने र रातमा दिसापिसाब पनि घरभित्रै गर्नुपर्ने बाध्यता भएको गाउँलेले बताउन्छन् ।
स्थानिय भालुखोलाको श्री जन जीवन प्रावीमा पढन आउने साना – साना विधार्थीका अभिभावक समेत विहान बेलुका छोराछोरी विधालय पुर्याउन र लिन आउन वाध्य भएका छन् । यस्तै ढिकुरामा समेत विधार्थीलाई अभिभावक विहान बेलुका छोराछोरी विधालय पुर्याउन र लिन आउन वाध्य भएका छन् । दिउँसै पनि एक्लै हिँड्न मुस्किल छ ।
उनिहरुले नरभक्षी बाघ – चितुवालाई पक्रिएर जनताको शान्तिसँग बाँच्न पाउने अधिकार सुरक्षित गर्न माग गरेका छन् । पटक-पटक बाघको आक्रमणबाट अबोध बालबालिकाको ज्यान जाँदा समेत बाघ मार्न प्रशासन लागी नपरेको गुनासो स्थानियबासीको छ ।
उता सन्धिखर्क स्ठित खाचिकोट, ढिकुरा लगायतका क्षेत्रमा परिचालन भएको बिशेष सेना र प्रहरीको टोलीले तेस्रो दिन सम्म पनि बाघ फेला पर्न सकेन ।
सेना र प्रहरी परिचालन गरेको तेस्रो दिन नरभक्षी चितुवा, बाघ फेला परेन। तेस्रो दिन पनि सन्धिखर्कको कुर बेल्दारा देखि खाचिकोट, ढिकुरा सम्मको सबै जंगलमा खोजी गरिएपनि बाघ फेला पर्न सकिएन । अर्घाखाँचीको ईतिहासमा बाघ मार्नको लागि सेना परिचालन गरिएको यो पहिलो घटना हो ।
नरभक्षी चितुवा, बाघ मार्नका लागि सन्धिखर्कको कुर, किमडाँडा, नुवाकोट, ढिकुरा र खाँचीकोट लगायतका क्षेत्रमा हरियार सहित सेनाका २५ जना सादा पोशाक सहितका प्रहरी ३५ जना, वन कार्यालय, स्थानियबासी सहित सयौ जना परिचालन भएका छन् ।
उता खोजी जारी राख्दा नरभक्षी बाघलाई फेला पर्न नसकेपछि प्रहरीले नयाँ रणनिती बनाउन पुन: सुरक्षा बैठक बस्ने भएको छ । उक्त सुरक्षा बैठकमा अध्ययन बिश्लेषण गरी जनतालाई सुरक्षाको प्रत्याभुति दिलाउन अबकाे प्रयास र बिकल्पको बारेमा छलफल हुनेछ । यस पटक प्रहरी प्रशासनले बढी सकृयता देखाएको छ ।
बाघ आतंक बढ्दै गएपछि खाचिकोट, ढिकुरा, नुवाकोट, सन्धिखर्क, किमडाँडा लगायतका स्थानिय बासिन्दा त्रसित भएका छन् ।
जिल्लामा गएको तीन वर्षभित्र १५ जना भन्दा बढि बालवालिकालाई चितुवाले आक्रमण गरेको छ । जसका कारण ११ जनाको ज्यान गएको छ । जिल्लामा चितुवा, बाघ आक्रमण र आतंक बढ्दै गएको लामो समय हुँदा समेत प्रहरी प्रशासनले चितुवा मार्नका लागि अहिलेसम्म महत्वपूर्ण भूमिका खेल्न नसकेको भन्दै स्थानीय बासिन्दा आक्रोशित भएका छन् । अर्घाखाँची नेपालको अन्य भेगमा भन्दा बढी बाघले आतङ्क मच्चाएको जिल्ला हो ।