नबिन के.सी
मालारानी, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । मालारानी गाउँपालिकाको प्रथम गाउँसभा सम्पन्न भएको छ । गाउँसभाले ४३ करोड भन्दाबढीको बजेट प्रस्तुत् गरेको गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्यले जानकारी दिए ।
सभाले सेवाग्राहीहरुलाई कामको प्रकृति अनुसार ५ देखि ३० मिनेटमा सेवा दिने निर्णय गरेको छ । साथै सभाले गरिब तथा बिपन्न व्याक्तिको खरको छानो भएका घरधुरी विस्थापित गर्ने निर्णयसमेत गरेको छ । आर्थिक अवस्था कमजोर भएका कारण घर बनाउन नसकेका घरधुरीलाई गाउँपालिकाले जस्ता पाता उपलब्ध गराउने अध्यक्ष आचार्यले बताए ।
गाउँसभाका सदस्य जनार्दन खनालले प्राकृतिक हिसावले सुन्दर मालारानी मनचिन्तेपानी, नरसिंहस्थान, सिमेदेऊराली,भडाँरथुम, अपूर्व छहरो, छहरामाईलगायतका ऐतिहासिक महत्वका स्थलहरूको संरक्षण गर्दै पर्यटकका लागि गन्तव्य बनाउन प्रयास गर्ने बताए ।
सभाका सदस्य नारायण अर्यालले मालारानीको विकासका लागि सबै वडालाई गाउँपालिकाले समान रुपमा हेर्नु पर्ने भन्दै नमुना गाउँपालिका बनाउन आफूहरु दिन रात खटने बताए । सभामा यातायात क्षेत्रलाई सुगम, शिक्षा स्वास्थ्यमा सुधार ल्याउँदै जनताको जीवनस्तर माथि उकास्ने खालका नीति तथा कार्यक्रम पारित गर्दै योजना तथा बजेट विनियोजनको पक्रिया अघि बढाउँने निर्णय भएको उपाध्यक्ष प्रमिला क्षेत्रीले जानकारी दिइन ।
गाउँसभाका निर्णय
– प्रमिला क्षेत्रीको अध्यक्षतामा जनार्दन खनाल र खड्क भुसालसहित ३ सदस्य न्यायिक समिति गठन
– आर्थिक ऐन र नीति तथा कार्यक्रम पारित
– मदिरा पसल बेलुका ६ बजे देखि ९ बजेसम्म मात्रै खोल्न पाइने
– सेवाग्राहीलाई ३० मिनेट भित्रमा सेवा दिने
– कामको प्रकृति हरेर जुनसुकै सेवाग्राहीको काम बढीमा ३० दिनमा सक्ने
– गाउँपालिका भित्रका योजना ३ महिना भित्रैमा सम्पन्न गर्नुपर्ने ।
– व्यवसायिक कृिष तथा पशुपालन गरेका कृषकलाई प्रोत्साहन गर्ने
– रोजगारमुलक कार्यक्रम सञ्चालन गरी गाउँपालिका भित्रै रोजगारको व्यवस्था सृजना गर्ने
– मालारानीका पर्यटकीय क्षेत्रको संरक्षण गर्दै प्रचार प्रसार गर्ने
– काठका पोल विस्थापित गर्ने
– स्वास्थ्य चौकिमा २४ सै घण्टा प्रसुति सेवा उपलब्ध गराउने
– मोटरबाटोको स्तर उन्नति गर्ने
– डकर्मी, सिकर्मी, सिलाईकटाई,आरन जस्ता सिपमुलक कार्यक्रम सञ्चालन गरी प्रविधी हस्तान्तरण गर्ने
– बादर नियन्नत्रणका लागि हेरालु राख्ने