टोपबहादुर रायमाझीद्वारा प्रदेश ५ को राजधानी अर्घाखाँचीको जलुकेमा हनु पर्ने दावी

प्रेमनारायण आचार्य 
सन्धिखर्क, अर्घाखाँची । नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले पाँच नम्वर प्रदेशको राजधानी अर्घाखाँचीको जलुकेमा हनु पर्ने बताएका छन् । उनले राप्ती नदीको किनारमा रहेको जलुकेको लामाताल पाँच नम्बर प्रदेशको माझमा पर्ने भएकोले आफूले त्यसैको पक्षमा गरिहेको दावी गरे ।
सामुदायिक रेडियो देउरालीले आयोजना गरेको दशैं विषेश कार्यक्रममा बोल्दै पूर्वमन्त्री समेत रहेका रायमाझीले यस्तो अभिव्यत्ति दिएका हुन् ।
प्रदेश पाँचको राजधानी कसैले बुटबल र कसैले दाङ हुनुपर्ने तर्क राखी रहेकोमा ती ठाउँमा सहमति नभए लामातालको विकल्प नभएको रायमाझीले बताए।
माओवादीबाट पाँच नम्वर प्रदेशको मुख्य मन्त्रीका दावेदारको रुपमा चर्चामा आएका उनले आफू प्रदेशको नभई प्रतिनिधिसभाको निर्वाचन लड्ने खुलासा पनि गरे ।
कार्यक्रममा उपस्थित भएका नेपाली कांग्रेसका जिल्ला सभापति बिष्णु प्रसाद खनालले अर्घाखाँचीको १ नम्बर निर्वाचन क्षेत्रबाट प्रदेश सभाका लागि उम्मेदवार बन्ने घोषणा गरे । उनले आफ्ना कार्यकर्ता र जनताको चाहना अनुसार उम्मेदवार बन्न लागेको दावी गरे ।
एमालेका जिल्ला अध्यक्ष चेतनारायण आचार्यले पार्टीका नेता र कार्यकर्ताले जहाँबाट भन्छन् त्यहीबाट चुनाव लड्ने बताए । 

अन्य समाचारहरु