यमनमा गएको करिब चार महिनादेखि फैलिएको हैजाबाट दुई हजार १५१ जनाको मृत्यु भइसकेको पछिल्लो तथ्यांकमा खुल्न आएको छ ।
गएको अप्रिलदेखि अहिलेसम्म मृत्यु हुनेहरुको संख्या बढेर दुई हजार १५१ पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले शनिबार जनाएको समाचारमा उल्लेख छ ।
यमनका २३ ओटा प्रान्तमध्ये २२ ओटा प्रान्तमा हैजा फैलिएको थियो । हैजाबाट कुल ८ लाख ६२६ जना बिरामी भएको विश्व स्वास्थ्य संगठनद्वारा सन्चारकर्मीलाई वितरित विज्ञप्तिमा जनाइएको छ ।
मृत्यु भएकामध्ये अधिकांश घटना उत्तरी हाज्जाह प्रान्तमा भएका हुन् । त्यसैगरी, धेरै बिरामीहरु भने उत्तरपश्चिमी होडेइडाह प्रान्तका रहेका पनि उक्त समाचारमा जनाइएको छ ।
हैजाको प्रकोप फैलिएका दुवै ठाउँ हुथी विद्रोहीको नियन्त्रणमा रहेका छन् । रेडक्रसको अन्तर्राष्ट्रिय समितिले गतहप्ता मात्र यस वर्षको अन्त्यसम्म झन्डै १० लाख मानिसलाई हैजाले सताउने अनुमान गरेको थियो ।
यमनमा साढे दुई वर्षदेखि युद्ध चलिरहेको छ । युद्धका कारण खानेपानी तथा सरसफाई सम्वन्धी संरचना क्षतिग्रस्त भएका छन् ।
त्यसैगरी, आधाभन्दा बढी स्वास्थ्य सेवासम्वन्धी संरचना पनि सेवा प्रवाह गर्न नसक्ने अवस्थामा रहेका छन् ।
अनेक संरचनाहरुमा क्षति पुगेकाले यमनमा अहिले एक करोड ५० लाख नागरिकलाई आधारभूत स्वास्थ्य सेवा र सुरक्षित खानेपानी तथा सरसफाई सम्वन्धी सेवाको समेत अभाव छ ।
हुथी विद्रोहीको नियन्त्रणमा रहेका ती क्षेत्रहरुमा दाताहरुले सहायता बाड्न खोज्दा पनि उनीले त्यहाँ जान दिने गरेका छैनन् ।
यसका कारण हैजाका साथै विभिन्न अरु पानीजन्य रोग र बालबालिकामा कुपोषणको अवस्था देखिएको छ । तर, दाताहरुको ध्यान भने यथोचितरुपमा ती क्षेत्रहरुमा पुग्न नसकेको बताइएको छ । (रासस/सिन्ह्वा)