अर्जुन भुसाल
सन्धिखर्क, अर्घाखाँची असोज ३० (अर्घाखाँचीडट्कम) । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहप्रवक्ता भिष्मकुमार भुसालले पूर्ण क्षतिको विवरणमा अर्घाखाँचीमा १ हजार ३६ घरको तथ्यांक रहे पनि त्यो वास्तविक नभएको बताए । सन्धिखर्कमा पत्रकारहरुसँग कुरा गर्दै उहाँले स्थलगत रुपमा गएर हेर्दा वास्तविक भन्दा त्यो संख्या धेरै भएको पाइएको बताए ।
भुसालले प्राविधिकलाई प्रभावमा परेर पूर्ण क्षतिको विवरणमा नाम दर्ता गरेकालाई क्षतिपूर्ति वापतको रकम उपलव्ध नगराउने बताउँदै ‘पूर्ण रुपमा भत्किएर नयाँ घर निर्माण गरेकालाई मात्र पूर्ण क्षतिको विवरणमा राख्न सकिने बताए। ‘सामान्य मर्मत गरेर प्रयोगमा आएका घरहरुलाई पूर्ण क्षतिको विवरणमा राख्न नमिल्ने उहाको भनाई छ ।
भूकम्प पीडितहरुलाई पहिलो किस्ता वापतको ५० हजार रुपैयाँ उपलव्ध गराइएको भन्दै अन्य किस्ता उपलव्ध गराउने पक्रिया अघि बढेको बताउँदै पूर्ण रुपमा क्षति भएको घर निर्माणका लागि ३ लाख रुपैयाँ उपलव्ध गराउने बताए । उनले अर्घाखाँचीका सरकारी कार्यालयहरुले भूकम्प पीडितहरुसँग प्रभावकारी ढंगले समन्वय नगर्दा पीडितहरु अलमलमा परिरहेको पाइएको बताउनु भयो । उनले प्राधिकरणले निरन्तर रुपमा पुनर्निर्माणमा लागे पनि गलत ढंगले प्रचार गरेर प्राधिकरणलाई वदनामित गर्ने काम भएको बताए ।
सरकारले समय समयमा विभिन्न निर्णय गर्दा कानूनी अड्चनका कारण समस्या आएको बताउँदै भुसालले प्राधिकरण एक्लैले मात्र सबै काम गर्न नसक्ने भन्दै भूकम्प पीडितको उत्थानका लागि सबै क्षेत्रको सहयोग चाहिने बताए । प्राधिकरणमा ४६ प्रतिशत कर्मचारीको दरवन्दी खाली हुँदा काम गर्नमा समस्या आएको जानकारी दिँदै उहाँले तराइका बाढी पीडितहरुको पुर्नस्थापनाको कामको जिम्मा पनि प्राधिकरणलाई दिएकाले काम गर्नमा समस्या आइरहेको बताए । उहाँले दातृ निकायले घोषणा गरेको रकम मध्ये निकै थोरै मात्र उपलव्ध भएको भन्दै घोषणालाई लिएर भ्रममा पर्न नहुने बताए ।