बेपत्ता चन्द्र श्रेष्ठ र भाई राजकुमार श्रेष्ठ (दाँया) । तस्बिर: फेसबूकबाट
अर्घाखाँची डट्कम संवाददाता
चितवन (अर्घाखाँची डट्कम)। तनहुँको देबघाट गाउँपालिका-५ बेनीसंगमस्थित काली र त्रिशुली नदी मिसिएको ठाउँ देवघाटमा बाबुको श्राद्ध (वार्षिक पुण्यतिथि) का लागि नुहाउने क्रममा विहिबार दिउँसो नारायणी नदीले बगाएर बेपत्ता अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ का दुई दाजुभाइको शब शुक्रबार राती सम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय चितवनले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले राती १० बजे अर्घाखाँचीडट्कमलाई फोनमा दिएको जानकारी अनुसार डुबेर बेपत्ता भएका सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ का ३८ वर्षीय चन्द्रमान श्रेष्ठ र २८ वर्षीय भाई राजकुमार श्रेष्ठको शब अहिले सम्म फेला नपरेको बताएको हो ।
सशस्त्र र नेपाल प्रहरीले शुक्रबार दिनभर नदीमा खोजी गरेता पनि शब नभेटिएको प्रहरीले बताएको छ । प्रहरीले पुन: भोली नदीको किनारामा खोज्ने जानकारी गराएको छ ।
दिउसो भाई राज कुमार श्रेष्ठको शब फेला परेको भनी हल्ला गरिएता पनि त्यो नवलपरासीको कवासतीमा महिलाको भएको प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले बिहीवार राती डुबेर बेपत्ता भएका चन्द्रमान श्रेष्ठ र उनका भाई राजकुमार श्रेष्ठको मृत्यु भएको र शब अहिले सम्म फेला नपरेको बताएका थिए । साथै जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यका अनुसार उनिहरु बच्ने अवस्था नरहेको र शब अहिले सम्म फेला नपरेको बताएका छन् । बेपत्ता भएका श्रेष्ठ दाजुभाइको शब खोज्ने कार्य जारी राखिने उनले बताए ।
सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ का ३८ वर्षीय चन्द्र श्रेष्ठ र २८ वर्षीय भाई राजकुमार श्रेष्ठ बिहीबार नदीमा डुबेर बेपत्ता भएका थिए । बेपत्ता मध्ये चन्द्रमान श्रेष्ठ अर्घाखाँचीडट्कम प्रिन्ट संस्करणका डिजाइनर तथा प्रतिनिधि हुन्। यस्तै चन्द्रमानले सन्धिखर्कमा होटल र लवकुश इम्मोरियम कपडा पसल सञ्चालन गरेका थिए । केही महिनादेखि धरानमा व्यवसाय गर्दै आएका थिए । राजकुमार श्रेष्ठ हाल रुपन्देहीको बुटवल उप-महानगरपालिका-१५ मा (लबकुश होटेल) व्यवसाय गर्दै आएका थिए ।
एकै परिबारका चार दाजुभाइ सरात गर्न भनी देबघाट गएका थिए । उनीहरू विहिबार दिउँसो १ बजे धार्मिक मान्यता अनुसार श्रद्धाको काम पूरा गरेपछि शुद्ध हुन नुहाउन पूर्व देवघाटतर्फको नदीमा पसेपछि दाजुभाइ नै बेपत्ता भएका थिए । सँगै गएका अन्य २ दाजुभाईहरु भने शकुशल रहेका छन् ।
चन्द्रमान श्रेष्ठ नेपाल पत्रकार महासंघ जिल्ला शाखा अर्घाखाँची की साधारण सदस्य,संचारकर्मी तथा सामुदायिक रेडियो सुर्योदय एफ.एम.की समाचार प्रमुख अम्विका श्रेष्ठकाका श्रीमान हुन् । यसैक्रममा अर्घाखाँचीडट्कमले श्रेष्ठ दाजुभाईको घटनालाई लिएर दुःख व्यक्त गरेको छ । डट्कमका प्रमुख मेहर सिंह के.सीले एक विज्ञप्ति जारी गरि दुःख व्यक्त गरेका छन् ।
सन्धिखर्क शोकमा
जिल्लाको सदरमुकाम सन्धिखर्क दुई दाजुभाइको घटनाले खबरले शोकमा डुबेको छ । हिजो तिहारमा आयोजना गरिएका विभिन्न संघ- संस्थाका देउसी भैलो कार्यक्रम एकाएक स्थगित गरिएता पनि आज पुन: शुचारु भएका देखिन्थ्ये । व्यवसायी घरानाका श्रेष्ठ दाजुभाइ बेपत्ता भएपछि सन्धिखर्क बजार सुनसान छ ।
अर्घाखाँचीमा चन्द्रमान श्रेष्ठ सामाजिक कार्य, इमान्दारी र युवा पुस्तामा परिचित थिए । उनिहरुको बेपत्ता भएको खबर सामाजिक सन्जालमा अर्घाखाँचीबासीले दु:ख व्यक्त गरिरहेका छन् ।