अर्घाखाँचीडट्कम संवाददाता
मिनभवन, काठमाण्डौं ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड न:- ४ स्थित बल्कोट बहुमुखी क्याम्पस (प्रस्तावित) को सम्बन्धनका लागि तथा श्री महेन्द्र विद्याबोध माध्यमिक विद्यालय बल्कोटको स्वर्ण जयन्ती मनाउनका लागि काठमाण्डौंको मिनभवनमा रहेको होटल ग्रेट सिद्धार्थमा छलफल तथा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ ।
विद्यालय ब्यवस्थापन समितिको आयोजनामा गरिएको उक्त कार्यक्रममा उक्त विद्यालयमा अध्ययन गरेका पूर्व विद्यार्थीहरु, पूर्व प्राचार्यहरु, शुभचिन्तकहरु तथा लब्ध प्रतिष्ठित ब्यक्तिहरु लगाएत करिव ७० जनाको उपस्थिति थियो । विद्यालयको स्वर्णजयन्ति कार्यक्रमका लागि काठमाण्डौमा एक समिति बनाईएको र उक्त समितिको भूमिका निकै महत्वपूर्ण रहेको विद्यालयका प्राचार्य डिल्लीराज भूसालले बताउनु भयो । स्वर्णजयन्ति भब्यताकासाथ सम्पन्न गर्न विभिन्न विषयगत उपसमितिहरु बनाईने कार्य शुरु गरिने भएको छ ।
विद्यालयमा हाल १० कोठे पक्की भवन र अर्को ४ कोठे भुकम्प प्रतिरोधी भवन रहेका छन् । निकै पुरानो रहेको ४ कोठे कार्यशाला भवन जीर्ण भईसकेको ढल्नै लागेकोले आ.व. २०७४/७५ मा फर्निचर सहित ४ कोठे पक्की भवन निर्माणका लागि शिक्षा मन्त्रालय मार्फत पहल गर्दा बल्कोटमा भवन निर्माणको कार्यक्रम परेको र सो को निर्माण छिटै शुरु हुने बल्कोटका स्थानीय कृष्णराज पाण्डेले बताउनु भएको छ ।
अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै बल्कोटमा रहेको महेन्द्र मावि निकै ऐतिहासिक रहेको, यहाबाट उत्पादित जनशक्ति राज्यको उच्चतहमा पुगेको स्मरण गर्दै उक्त विद्यालय २०२० साल बैशाख २० गते स्थापना भएको दस्तावेजमा उल्लेख रहेको विद्यालयका पूर्व प्राचार्य ठाकुर प्रसाद पाण्डेले बताउनु भयो ।
त्रिभुवन विश्वविद्यालयको सम्बन्धनका लागि ७ सदस्यीय समिती पनि बनाईएको छ ।
अर्घाखाँचीको पूर्वी भागमा स्नातक तहसम्मको क्याम्पस नभएकाले प्लस टु को अध्ययनपछि विद्यार्थीहरु सन्धिखर्क, पाल्पा, बुटवल, काठमाण्डौं सम्म धाउनु पर्ने बाध्यता रहेको छ । क्याम्पसको सम्बन्धनका लागि पहिले देखि नै प्रयास गरिए पनि सफल हुन सकेको थिएन ।