सन्धिखर्क, अर्घाखाँची १३ कात्तिक । आगामी मंसिर २१ मा हुने प्रदेशसभा र प्रतिनिधिसभा चुनावका लागि अर्घाखाँचीमा ९३ मतदान स्थल कायम गरिएको छ । गत स्थानीय तह निर्वाचनमा कायम भएका मतदान स्थललाई नै कायम गरिएको जिल्ला निर्वाचन अधिकृत अर्घाखाँचीका प्रमुख केदारनाथ शर्माले जानकारी दिए ।
एक प्रतिनिधीसभा सभा तथा दुई वटा प्रदेश सभा रहेको अर्घाखाँचीमा जिल्ला भर १७४ मतदान केन्द्र रहने जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीले जनाएको छ । गत असारमा सम्पन्न स्थानीय तह निर्वाचनमा भन्दा मतदाता संख्याको आधारमा ८ वटा केन्द्र थप भएको जिल्ला निर्वाचन अधिकृत शर्माले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा निर्वाचन कार्यालयले गरेको पत्रकार सम्मेलनमा सहायक प्रमुख जिल्ला अधिकारी शंकर भुसालले आगामी मंसिरमा हुने निर्वाचनलाई शान्तिपूर्ण भयरहित वातावरणमा सम्पन्न गर्न सबैपक्षले सहयोग गर्न आग्रह गरे ।
स्रोत: घनश्याम पौडेल/हिन्दुखबर
अर्घाखाँचीमा निर्वाचन कार्यतालिका सार्वजनिक
मुख्य निर्वाचन अधिकृतको कार्यालय अर्घाखाँचीले निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ ।
जसअनुसार आगामी कात्तिक १६ गते उम्मेदवारको मनोनयनपत्र दर्ता, १७ गते उम्मेदवारको विरोधमा उजुरी, १८ गते उजुरीउपर जाँच र उम्मेदवारको नामावली प्रकाशन, १९ गते नाम फिर्ता तथा उमेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न प्रदान गरिने छ ।
अर्घाखाँचीमा प्रतिनिधिसभा सदस्यका लागि एक र प्रदेशसभाका लागि दुई क्षेत्र निर्धारण गरिएको छ । अर्घाखाँचीमा दोस्रो चरणमा आगामी मंसिर २१ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदैछ ।
मतदाता संख्या १,३८,३२७ जना
अर्घाखाँची जिल्लामा प्रतिनिधि सभा निर्वाचनका लागी एक लाख ३८ हजार ३ सय २७ जनाले मतदान गर्न पाउँने भएका छन् । एउटा मात्र प्रतिनिधी सभा र दुई वटा प्रदेश सभा रहेको अर्घाखाँचीमा प्रदेश सभा निर्वाचन क्षेत्र नं १ मा ३१ हजार २ सय ९४ जना पुरुष र ३३ हजार ९ सय १० जना महिला गरी जम्मा ६५ हजार २ सय ४ जनाले निर्वाचन क्षेत्र नम्बर एकमा मतदान गर्न पाउँने छन् ।
प्रदेश सभा निर्वाचन क्षेत्र नं २ मा ३७ हजार ४ सय ४३ जना महिला र ३५ हजार ६ सयँ ८० जना पुरुष गरी जम्मा ७३ हजार १ सय २३ जना मतदाता रहेका छन् । प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर एकमा भन्दा दुईमा १२ हजार मतदाता बढी रहेका छन् । जिल्लामा स्थानिय तहको निर्वाचन पछि मतदाता बाहृ हजार नयाँ मतदाता थपिएको निर्वाचन कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ ।
जिल्लामा निर्वाचन क्षेत्र निर्धारण
अर्घाखाँची जिल्लामा प्रतिनिधिसभाका लागि एउटा मात्र निर्वाचन क्षेत्र निर्धारण गरिएको छ । अर्घाखाँची जिल्लामा प्रदेशसभाका लागि दुई वटा निर्वाचन क्षेत्र निर्धारण गरिएको छ । जस अनुसार प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र विवरण यसरी निर्धारण गरिएको छ:-
अर्घाखाँची प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ मा:-
क) सन्धिखर्क नगरपालिकाका ४,५,८,९,१०,११,१२ नं वार्ड
ख) भूमिकास्थान नगरपालिकाका १,२,३,४ नं वार्ड
ग) मालारानी गाउँपालिका
घ) छत्रदेब गाउँपालिका
अर्घाखाँची प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ मा:-
क) सन्धिखर्क नगरपालिकाका १,२,३,६,७ नं वार्ड
ख) भूमिकास्थान नगरपालिकाका ५,६,७,८,९,१०, नं वार्ड
घ) शीतगंगा नगरपालिका
ग) पाणिनी गाउँपालिका