अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । आगामी मंसिर २१ गते हुने दोस्रो चरणमा हुन गईरहेको प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनका लागि पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष, उपाध्यक्ष लगायतका पत्रकार एमाले – माओवादी केन्द्र गठबन्धनलाई चुनाव जिताउन लागि परेका छन् ।
नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त बामगठबन्धन अर्घाखाँचीले शुक्रबार सार्वजनिक गरेको निर्वाचन परिचालन कमिटी अन्तर्गत संचार समन्वय समितिको संयोजकमा हिमबहादुर जि.सी.लेकाली र सहसंयोजकमा गणेश खनाल रहेका छन् । पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष हिमबहादुर जि.सी. एमाले र महासंघका उपाध्यक्ष खनाल माओवादी केन्द्रका हुन् ।
एमाले र माओवादी केन्द्रको बामगठबन्धनका उम्मेदवारलाई जिताउन अर्घाखाँचीका एफ.एम रेडियो, जिल्ला बाहिर समाचार पठाउने संवाददाताहरु खुलेर लागेका छन् । यस अगाडि पत्रकार महासंघ अर्घाखाँचीका पुर्व अध्यक्ष शोभाखर पन्थी र पत्रकार मुक्तिनाथ भुसाल एमाले प्रवेश गरेका थिए ।
अर्घाखाँचीमा सबै एफ.एम रेडियोहरु जिल्लाका राजनीतिक पार्टीका नेताहरुको लगानी चलेका छन् । ति सबै एफ.एम रेडियोले एक पक्षिय समाचार मात्र दिदै आएका देखिन्छन् ।
पत्रकार महासंघ अर्घाखाँची शाखा खारेज गर्न माग
उता पत्रकारहरु यसरी खुलेर राजनीतिकमा लगेको भन्दै जिल्ला भित्र र बाहिर व्यापक आलोचना भएको छ । अर्घाखाँचीबासीहरुले पत्रकार महासंघ अर्घाखाँची शाखा खारेज गर्न माग समेत गरेका छन् । उनिहरुले पत्रकार महासंघ केन्द्रिय कार्यालयले अर्घाखाँची शाखा तुरुन्त खारेज गर्न वा स्वतन्त्र पत्रकारितामा लागेका पत्रकारहरुलाई समावेश गरी पुन: पत्रकार महासंघ अर्घाखाँची शाखाको गठन गर्नुपर्ने माग गरेका हुन् । राजनीतिक कार्यकर्तानै पत्रकार भए पछि पत्रकारिता क्षेत्रमा विकृति आएको उनिहरुको भनाई छ ।