बंगलादेशको एक गाउँमा धार्मिक दंगा भड्किदा एकजना मारिए

  सामाजिक सन्जाल फेसबुकमा इश्लाम धर्मको अपमान गरिएको सन्देश राखेको विषयमा बंगलादेशको एक गाउँमा धार्मिक दंगा भड्किदा एकजना मारिएका छन् ।
ठाकुरपारा गाउँका एकजना हिन्दु युवकमाथि इश्लाम धर्मको अपमान गरिएको फेसबुक सन्देश राखेको अभियोग लागेपछि शुक्रबारबाट हिंसा सुरु भएको थियो ।
हिंसा सुरु भएलगत्तै हजारौं मुसलमानहरुले अल्पसंख्यक हिन्दुहरुको मन्दिर र घरहरुमा लुटपाट मच्चाएका थिए । मुश्लिम समुदायको भीडले मन्दिरहरुमा तोडफोड गर्नुका साथै घरहरुमा आगो लगाइदिएका छन् ।
‘बीबीसी’का अनुसार हिंसा नियन्त्रण गर्न खटिएका प्रहरीले गोली चलाउँदा भिडका एक जना मानिस मारिएका छन् ।
फेसबुकमा इश्लाम धर्मको अपमान गरिएको सन्देश राखेको आरोप लागेका ती युवकको परिवारले आरोप अस्वीकार गरेका छन् । हिन्दु समुदायका अगुवाहरुले कम्प्युटर चलाउनै नजान्ने युवकलाई धर्मको अपमान गरेको नक्कली फेसबुक सन्देशको बहानामा आफूहरुमाथि सुनियोजित रुपमा आक्रमण गरिएको बताएका छन् ।
तर, प्रहरीले उक्त फेसबुक सन्देश लेखिएको अकाउन्ट खोल्न प्रयोग गरिएको फोटो र मोबाइल नम्बर हिन्दु युवक तिटु चन्द्राको भएको बताएको छ ।
उक्त घटनापछि ठाकुरपारा गाउँका मानिसहरु अहिले पनि घर फर्किन डराइरहेका छन् । एजेन्सी