सन्धिखर्क नगरपालिकाले अउलाखोलामा जथाभावी प्लाष्टिकजन्य फोहोर जलाउदा वातावरण प्रदुषित, स्थानियबासी चिन्तित


प्रेम खड्का 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका क्षेत्र वरपर संकलन हुने फोहोर अउलाखोलामा बनाइएको डम्पिङ साइडमा जथाभावी फाल्दा र जलाउदा वातावरण  प्रदुषित भएको छ ।
सन्धिखर्कमा उठाएको फोहर अगुलाखोलामा जथाभावी जलाउदा त्यसबाट उत्पन्न हुने विषाक्त ग्याँसले फुदवाङ, हटारी लगायतका क्षेत्रको वातावरणलाई प्रदुषित बनाएको हो । यस्तै दिउसो फोहोर जलाउदा सन्धिखर्क – फुदवाङ सडकमा आवतजावत गर्ने सवारीसाधनहरुले पनि सास्ती व्यहोर्नु परेको छ ।
सन्धिखर्कका किराना पसल, रेष्टुरेण्ट, मेडिकल लगायतबाट दिनहुँ   संकलन हुने प्लाष्टिकजन्य जलाउदा मानव शरीरमा नकरात्मक असर पुग्दै गएपनि यसतर्फ सम्बन्धीत निकायको ध्यान गएको देखिदैन । फोहोर जलाइदा फुदवाङ, हटारी लगायतका क्षेत्रको बाताबरण दिन प्रतिदिन विग्रदै गएको   छ ।
उता प्लाष्टिकजन्य फोहर वस्तुहरु जथाभावी जलाउदा वातावरणलाई प्रदुषित भएको र मानवजीवनमा असर गरेको भन्दै स्थानियबासीले  नगरपालिकालाई तुरुन्त रोक्न माग गरेका छन् । उनिहरुले प्लाष्टिकजन्य फोहरी वस्तुहरु जथाभावी फाल्दा र जलाउदा खेरी त्यसबाट उत्पन्न हुने विषाक्त ग्याँसले वातावरणलाई प्रदुषित  गर्ने र मानिसको स्वास्थ्यमा समेत गम्भीर नकारात्मक असर पुर्याउने उल्लेख गर्दै सकारात्मक तथा सृजनात्मक सोंचद्वारा प्लाष्टिकजन्य फोहर ब्यवस्थापका लागि ध्यान दिन सबैमा अनुरोध गरेका छन् ।
बाटोमा हिडडुल गर्नेहरु समेत मुख छोपेर हिड्न वाध्य भएका छन् । नगरपालिकाले फोहोर व्यवस्थापन बजार क्षेत्र नजिक गर्दा सन्धिखर्कभरको बाताबरण दिन प्रतिदिन विग्रदै गएको छ ।
यस्तै फुदवाङ, हटारीका बसिन्दाले  आ-आफ्नो घरमा संकलन गरिएको प्रयोग भैसकेका प्लाष्टिक बस्तुहरु पुनः प्रयोग गर्ने वा सीप र सृजनाद्वारा नयाँ बस्तु निर्माण गरि आय-आर्जन गर्ने माध्यम बनाएर प्लाष्टिकजन्य फोहरलाई मोहरमा बदल्न समेत अनुरोध गरेका छन् । यस्तै प्लाष्टिक सडे-गलेर जाँदैन र वातावरणीय तथा स्वास्थ्यका दृष्टिले जलाउन पनि मिल्दैन । प्लाष्टिकलाई पुनःप्रयोग वा नयाँ बस्तु निर्माण गरेर ब्यबस्थापन गर्न सकिने भएकोले यसतर्फ बिशेष ध्यान् जाहोस् भन्ने  उनिहरुको अनुरोध छ ।
विभिन्न अध्ययनहरुले खुला रुपमा प्लाष्टिकजन्य फोहर जलाईँदा त्यसले वातावरणमा नकारात्मक प्रभाव पार्ने देखाएको छ । त्यसबाट निस्कने धुवाँका कारण दम, मुटुको रोग लाग्ने, टाउको दुख्ने र कलेजो एवं मृगौलालाई नकारात्मक असर गर्ने देखाएको छ । प्लाष्टिकजन्य फोहर  जलाउँदा निस्कने डाइअक्सिन र फ्युरान्स नामक विषादिहरु क्यान्सर र स्वासप्रस्वास सम्बन्धी रोगहरुका कारक बन्ने गरेको पनि विभिन्न अध्ययनहरुबाट पत्ता लागेको छ । वातावरणमा दिर्घकालिन असर गर्ने फोहोर-प्लाष्टिक खुल्ला रुपमा जलाईँदा सन्धिखर्कलाई स्वच्छ बनाउन चुनौती थपिएको छ ।
सम्बन्धित समाचार:

अन्य समाचारहरु