अर्जुन भुसाल
छत्रदेव, अर्घाखाँची कार्तिक २९ । वाम गठवन्धन अर्घाखाँचीका प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार टोपबहादुर रायमाझीले अर्घाखाँचीलाई पाँच वर्षमा नमूना जिल्ला बनाउने उद्घोष गर्नु भएको छ ।
उहाँले कृषि र पर्यटन क्षेत्रको विकासबाट जिल्लालाई समृद्ध बनाउन सकिने बताउनुभयो , वाम गठवन्धन अर्घाखाँचीले छत्रदेव गाउँपालिकाको वडा नं. १, २ र ३ मा गरेको चुनावी सभालाई सम्वोधन गर्दै उहाँले आफूले पटक-पटक मन्त्री हुँदा जिल्लामा थुप्रै विकास निर्माणका कामहरु गरेको स्मरण गराउँदै आफूले थालेका योजनाहरुलाई पुरा गर्न थप योजनाहरुको थालनी गर्न आफ्नो उम्मेद्वारी रहेको बताउनु भयो । उहाँले आफूले सुरु गरेको सालझण्डी सन्धिखर्क ढोरपाटन सडक आयोजनाले जिल्लाको मुहार फेरिने बताउनु भयो । उहाँले सो सडक सञ्चालनमा आएपछि जिल्लामा पर्यटन व्यवसाय फस्टाउने दावी गर्दै कृषि क्षेत्रको विकासका लागि थुप्रै कामहरु हुन लागेको बताउनु भयो ।
उहाँले जिल्लाको विकासका लागि गुरु योजना निर्माण गरेर काममा लाग्ने बताउनु भयो । नेता रायमाझीले आफूबाट जिल्ला बासीले धेरै आशा गरेकाले जित सुनिश्चित भएको ठोकुवा गर्नु भयो । प्रदेश सभा क्षेत्र नं. १ उम्मेद्वार चेतनारायण आचार्यले अर्घाखाँचीका तिन ओटै सिटमा वाम गठवन्धनका उम्मेद्वारहरुले विजयी हासिल गर्ने बताउनु भयो । उहाँले लामो समय सम्म पार्टीको नतृत्व गर्दा जिल्लाको समग्र विकासमा महत्वपूर्ण भुमिका निर्वाह गरेको बताउनु भयो ।
जिल्लामा सडक सञ्जाल विस्तार, विद्युतीकरण र अन्य विकास निर्माणका कार्यमा निरन्तर लागि रहेको बताउनु भयो । उहाँले वाम एकताबाट अताल्लिएर विपक्षीहरुले भ्रमको खेती गर्न खोजेपनि नागरिक धेरै सचेत बनिसकेको बताउनु भयो । आचार्यले वाम उम्मेद्वारहरुले विजयी हासिल गरेपछि पाँच वर्षमा ७७ आटा जिल्ला मध्ये अर्घाखाँची विकासको हिसावले एक नम्वरमा आउने बताउनु भयो ।
कार्यक्रमलाई सम्वोधन गर्दै नेकपा मओवादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य चन्द्र बहादुर खड्का उज्जवलले वाम एकता मुलुको आवश्यकता भएको भन्दै यसलाई अनावश्यक रुपमा नलिन आग्रह गर्नु भयो । उहाँले देश लामो समय सम्म अस्थिर रहेका कारण विकास निर्माणका कामले गति लिन नसकेका कारण वाम एकताको आवश्यकता महसुस गरिएको बताउनु भयो । उहाँले वामपन्थी गठवन्धनले दुइ तिहाइ मतका साथ विजयी हासिल गर्ने दावी गर्दै त्यसपछि मुलुक कायापलट हुने बताउनु भयो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रकी प्रदेशसभा समानुपातिक उम्मेद्वार छमकुमारी खनाल, नेकपा एमालेका जिल्ला उपाध्यक्ष जीवनारायण कोइराला, एमाले नेता लक्ष्मण रायमाझी, एमाले सचिवालय सदस्य तथा छत्रदेव गाउँपालिका संयोजक भविश्वर पाण्डे, उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण श्रेष्ठ, निर्माण व्यवसायी संघका अध्यक्ष ऋषिराम अधिकारी, अनेरास्ववियुका केन्द्रीय सदस्य भरत न्यौपाने, अनेराव्वियुका अध्यक्ष प्रदिप नेपाली, वाइसियलका अध्यक्ष गोविन्द भुसाल, छत्रदेव ३ का वडा अध्यक्ष तेजप्रसाद खनाल, समाजसेवी राम प्रसाद घिमिरे, प्रेम भुसाल, रामलाल पराजुली लगायतको आतिथ्यता रहेको थियो ।